काठमाडौं- नेपाल कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले नेतृत्व पाएको पाँच महिना बित्दासमेत पूर्ण कार्यसमिति गठन हुन सकेको छैन। राजीव ढुङ्गानाको नेतृत्वमा रहेको तदर्थ कार्यसमितिको कार्यकाल साउन १५ मा सकिंदैछ। तर ढुङ्गानाले संघको महाधिवेशन गर्न ६ महिनाको समय पाएका थिए। पूर्व अध्यक्ष नैनसिंह महरको कार्यसमितिले निर्धारित मितिमा १२औं महाविधेशन गर्न नसकेपछि ढुङ्गाना अध्यक्ष रहेको अपूर्ण समिति गठन भएको थियो।
पार्टीको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ को बैठकको निर्णय अनुसार ६ महिनाभित्र १२ औं महाअधिवेशन गर्ने निर्देशन दिएको थियो। माघ १६ बाट कार्यकाल सुरु गरेका ढुङ्गानाको अवधि साउन १५ मा सकिँदैछ। महाधिवेशन गर्ने जिम्मेवारी पाएको वर्तमान कार्यसमितिले महाधिवेशनका लागि प्रक्रिया नै सुरु गर्नै नपाई कार्यकाल सकिन लागेको हो।
विगत पाँच महिनामा माउ पार्टी कांग्रेसले संघको कार्यसमितिलाई पूर्णता दिन पनि सकेन। यसबीचमा संगठनका तीन बैठक बसेको थियो। महामन्त्री युवराज पाण्डेयले भने, ‘संगठनको नियमित कार्यसञ्चालनको अवस्था नै रहेन। पाँच महिनामा बैठक चार पटक बस्यौं।’
संगठनको पूर्णता लागि संघका नेताहरुले पार्टी शीर्ष नेताहरुलाई चैत अगाडि भेटेर छलफल गर्ने अवस्था रहेपनि त्यसपछि कुरा हुन सकेको छैन। लकडाउन अघि संगठनलाई पूर्णता दिनका लागि शीर्ष तहका नेताहरु कहाँ डेलिगेसनमा गएको पाण्डेयले सुनाए। उनले भने, ‘संगठनलाई पूर्णता नदिदा अधिवेशनको कार्यतालिका प्रकाशित गर्न, प्रतिनिधि खटाउन नसकेको सुनाएका थियौं।’
शीर्ष नेताहरुबाट संगठनलाई पूर्णता छिट्टै दिने वचन आएपनि लकडाउनका कारण पूर्णता नपाएको उनले सुनाए। पार्टी सहमहामन्त्री डा प्रकाशशरण महतले लकडाउनले नेविसंघको विषयमा छलफल हुन नसकेको बताए। वर्तमान कार्यसमिति प्रतिकुल समयमा बनेकाले कार्यकाल थपिने संकेत गरे।
माघ १६ मा पार्टी सभापति शेरबहादुर देउवाले ढुङ्गानाको अध्यक्षतामा तीन सदस्यीय कार्यसमिति गठन गरेका थिए। सोही दिन मनोज वैद्य र महेश्वरी कुँवरलाई महामन्त्री बनाइएको थियो। पदाधिकारीका लागि पार्टीको तीन समूहलाई भागबण्डा गरिएको थियो। भागबण्डा अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहबाट परेका पदाधिकारीको मनोनयन माघ १९ मा गरिएको थियो।
दोश्रो चरणमा मनोनयनमा परेकाहरुमा उपसभापतिमा तुलसा पन्त र मुक्तिराज पौडेल थिए। सोही दिन महामन्त्रीहरुमा दीपक भट्टराई,उर्मिला थपलिया, प्रभातकुमार दाहाल, बलदेव तिमल्सिना र युवराज पाण्डे चयन भएका थिए। दोश्रो चरणमा गठन गरिएको सहित गरी १० सदस्यीय कार्यसमिति बनेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षीय एक महामन्त्री चयन हुन बाँकी छन्। पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षका उपसभापति चयन हुन सकेका छैनन्। सहमहामन्त्री तिनै समूहबाट चयन हुन सकेका छैनन्। पार्टी शीर्ष नेताहरुले तीन समूहबाट सम्मिलित हुने गरी १२७ सदस्यीय कार्य समिति बनाउने निर्णय भएको थियो।
पार्टीले तदर्थ समितिमा रहेकालाई १२औं महाधिवेशनमा प्रत्यासी हुन नपाउने निर्देशन जारी गरेको थियो। २०७५ माघको अन्तिमसम्म ३२ वर्ष उमेर नकाटेकाले १२औं महाधिवेशनमा उम्मेदवार बन्न पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।