काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालो प्रधानमन्त्री हुने सहमतिबाट पछि हटेर गल्ती महसुस गर्न थालेको बताएका छन्। बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्डले ५ वर्षे प्रधानमन्त्री कार्यकाल सहमती छोडेर गल्ती गरेका बताएका हुन्।
‘पार्टी एकता हुँदा जेठ ३ गते विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर पाँच वर्षे प्रधानमन्त्रीको कार्यकाल आधाआधा चलाउने सहमति गरेको थिएँ,’ प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘सरकारका गतिविधि देख्दा त्यो सहमति छोडेर गल्ती भएको कि भन्ने महशुस गर्न थालको छु।’
४ मंसिर ०७६ मा सहमति गरेर पाँच वर्षे प्रधानमन्त्रीको पूरै कार्यकाल ओलीलाई छोडेर पार्टीको काम गर्नेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी लिएका थिए। ‘तपाईंहरुले कम्यूनिस्ट आन्दोलन भारतको पश्चिम बंगालको जस्तो हुन्छ भन्नुहुन्छ। कतिपयले बंगालदेशको जस्तो हालत हुन्छ भन्नुहुृन्छ,’ प्रचण्डलाई उदृत गर्दै ती सदस्यले भने, ‘सरकारका यस्ता गतिविधिले कम्युनिस्ट आन्दोलन मात्रै होइन, पार्टी पार्टी नै विघटन हुन सक्छ।’
प्रधानमन्त्री ओली सहमतिबाट पछाडि हटेको भन्दै प्रचण्डले दुखेसो पोखका थिए। प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार पैदा भएको बताउँदै प्रचण्डले यस्तै अवस्था भए सरकार र पार्टी दुवै सकिने बताएका थिए।
‘भ्रष्टाचार सबैतिर व्याप्त छ। प्रधानमन्त्री जीमा अंहकार पैदा भयो,’ बैठकमा सहभागी ती स्थायी कमिटी सदस्यले भने, ‘सहमतिका आधारमा अघि नबढ्दा समस्या बढ्दै गयो।’ सरकारले कतिपय राम्रा काम गरेको बताउँदै प्रचण्डले पार्टी र सरकारबीच रिक्त हुँदा बाहिर राम्रो सन्देश जान नसकेको बताएका थिए।
प्रचण्डले पटकपटक आन्तरिक बैठकमा समेत पाँच वर्षे कार्यकाल आफूले छोडेर गल्ती गरेको बताउँने गरेको स्थायी कमिटी सदस्य गणेश साहले बताए। ‘अध्यक्ष प्रचण्ड कमरेडले बैठकहरुमा पाँच वर्षे प्रधानमन्त्रीका कार्यकाल छोडेर बताउनुहुन्थ्यो,’ साहले भने, ‘आजको बैठकमा समेत त्यही प्रचण्डले भाव व्यक्त गर्नुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।