लकडाउन आंशिक खुकुलो भएपछि काठमाडौं भित्रने क्रममा रहेका सवारीको जाँच हुँदै। काठमाडौं- केही बस व्यवसायीहरुले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नाममा यात्रु ओसार्ने कामप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूखुसी गरिएका काममा महासंघको नाम नजोड्न भनेको हो।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र त्यसको केही दिन अघिदेखि बन्द गरिएको यात्रुबाहक सार्वजनिक सवारी अहिले पनि बन्द नै रहेको भन्दै महासंघले आफ्नो तर्फबाट कुनैपनि सवारी सञ्चालन नगरेको जनाएको छ।
यात्रु बाहक सवारी सञ्चालनमा नरहेको र चलाउनेहरुले आफूखुसी चलाएको भन्दै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समेत जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
यसरी चलाइएका सवारीमा स्वास्थ्य सम्बन्धि कुनैपनि मापदण्ड नअपनाइएको प्रति समेत महासंघले ध्यानाकर्षण गराएको छ।
‘कुनैपनि स्वास्थ्य मापदण्ड नअपनाई चलाईएका यात्रुबाहक सार्वजनिक सवारीमा पूर्ण रुपमा रोक लगाउन माग गरिएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘यसरी गरिएको सवारी सञ्चालनमा महासंघको कुनै जिम्मेवारी हुने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।