काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विद्युतीय र अपांगमैत्री सवारी साधनलाई पार्किङ शुल्क नलाग्ने व्यवस्था गरेको छ।
महानगरपालिकाले बुधबार सार्वजनिक गरेको विनियोजन विधेयक, २०७७ मा विद्युतीय सवारी साधन र अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ शुल्क नलाग्ने उल्लेख गरिएको छ।
विनियोजन विधेयकमा काठमाडौं क्षेत्र नम्बर १ को न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्री सहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्मको काठमाडौं मध्यभागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किडका लागि निम्न अनुसार पार्किङ शुल्क तोकिएको छ।
क्षेत्र नम्बर १ भित्र
क) दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म- १५ रुपैयाँ
ख) दुई पाङ्ग्रेका लागि प्रतिघण्टा - २५ रुपैयाँ
ग) चार पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म- ५० रुपैयाँ
घ) चार पाङ्ग्रेका लागि प्रति घण्टा- ८० रुपैयाँ
क्षेत्र नम्बर २ भित्र
क) दुई पाङ्ग्रेका लागि प्रति घण्टा- १५ रुपैयाँ
ख० चार पाङ्ग्रेका लागि प्रति घण्टा- ४० रुपैयाँ
ग) चार पाङ्ग्रे भन्दा बढीका लागि- १ सय रुपैयाँ
महानगरपालिकाले क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बहिर्गमन फरकफरक हुनेगरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा सशुल्क पार्किङ गर्ने व्यवस्था मिलाउने बजेट वक्तव्यमा उल्लेख गरेको छ।
लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एक स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायीलाई भने उक्त व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्म सतप्रतिशत छुट दिने महानगरपालिकाको विनियोजन विधेयकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।