काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्ने प्रवृत्ति मौलाउँदै गएको बताएका छन्। बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विषयवस्तुको तथ्यमा नगएर हरेक निर्णयमा भ्रष्टाचार देख्न थालिएको भन्दै गुनासो गरेका हुन्।
कोरोना नियन्त्रणका लागि ल्याउने हरेक मेडिकल सामग्रीमा भ्रष्टाचार देख्न थालिएको भन्दै प्रधानमन्त्रीले आक्रोस पोखे। ‘विश्वभर कोरोना महामारी छ। महँगोमा मेडिकल सामग्री विदेशबाट खरिद गर्नुपर्ने अवस्था छ। मेडिकल सामग्री ल्याएन भने सरकारले किट नै ल्याएन, पिपिई नै ल्याएन भन्दै आलोचना गरिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘मेडिकल सामग्री ल्यायो भने सरकारले भ्रष्टाचार गर्यो, सरकार भ्रष्टाचारमा लिप्त भयो भन्दै आलोचना गर्छन।’
मेडिकल सामग्री खरिद गर्न नपाउने व्यापारीले नै अर्कोले ल्याउँदा भ्रष्टाचार भएको भन्दै बदनाम गर्ने गरेको ओलीको भनाइ छ। ‘सरकारले मेडिकल सामग्री खरिद गर्न कुनै संस्थासँग सम्झौता गर्छ। फेरि अर्काे संस्थाको व्यापारीले मेडिकल सामग्री ल्याउन पाएन भने भ्रष्टाचार भयो भनेर बदनाम गर्छ,’ ओलीले भने, ‘मेडिकल सामग्री खरिद गर्ने संस्थाको अस्वस्थ प्रतिस्पर्धाले सरकारलाई बदनाम गरायो।’
सरकारले कोरोना नियन्त्रणमा कतिपय काम राम्रा काम गरे पनि पार्टीका नेताहरुले प्रतिरक्षा नगरेकोमा प्रधानमन्त्रीले आक्रोस। ‘सरकारले कोरोना नियन्त्रणमा राम्रा काम गरे पनि नेताहरुबाट प्रतिरक्षा नै भएन,’ उनले भने, ‘सडकमा आउने भीडले जे भन्छ त्यसैका पछाडि हाम्रा पार्टीका नेताहरु कुद्नुभयो।’
सडकमा आउने भिडले कुनै तथ्य र प्रमाण खोज्नेभन्दा भ्रमको खेती गरेको ओलीले बताए। बेसारलाई कोरोनाको औषधि हुन्छ भन्दै कतिपय मान्छेहरु सडकमा कुदेको भन्दै ओलीले आक्रोस पोखे।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमित भएका ८ मुलुक जत्तिकै आर्थिक वृद्धि नेपालले हासिल गर्ने दाबी गरे।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि हासिल गर्न पार्टी एकता गरेको बताए। ‘हामीले देशमा राजनीतिक स्थिरता र समृद्धिका लागि पार्टी एकता गर्यौं। मैले नै राजनीतिक स्थिरताका लागि प्रधानमन्त्रीजीलाई पाँचै वर्ष सरकारको नेतृत्व गर्नेगरी समझादारी गरें,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर सरकारले अपेक्षा गरेजति राम्रा काम गर्न सकेन। भएका राम्रा कामको पनि बाहिर प्रचार हुन सकेन।’
स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी एकता र कम्युनिस्ट आन्दोलनका विषयमा लामो व्याख्या गरेको ती स्थायी कमिटी सदस्यले बताए। सरकारका काम कारबाही प्रभावकारी नभएको भन्ने विषयमा प्रचण्डले घुमाउरो भाषामा आलोचना गरेको थिए।
बैठकको पहिलो दिन अध्यक्ष ओली र प्रचण्डले मात्रै धारणा राखेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। सरकारका काम कारबाहीका सम्बन्धमा, एमसिसी, पार्टी एकताका बाँकी कामका विषयलाई बैठकको एजेण्डा बनाइएको थियो। अर्को बैठक शुक्रबार बिहान ११ बजे बालुवाटारमा बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।