काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/७८ का लागि काठमाडौ महानगरपालिकाले १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर हरिप्रभा खड्गीले बुधबार नगरसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्।
महानगरपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकास कार्यक्रमका लागि ५ अर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ३५ दशमलव १५ प्रतिशत बजेट छुट्याएको छ।
त्यस्तै प्रशासन संचालन तथा चालु खर्चतर्फ महानगरले १ खर्ब ७४ अर्ब ७२ लाख ५० हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको १० दशमलव ६४ प्रतिशत रकम छुट्याइएको छ।
सशर्त योजना तथा कार्यक्रमहरुका लागि महानगरले २ अर्ब ५७ करोड ५१ लाख अर्थात १५ दशमलव ६८ प्रतिशत, सामाजिक विकास शीर्षकमा १ अर्ब ५० करोड ३० लाख अर्थात् ९ दशमलव १५ प्रतिशत र संपदा संरक्षण तथा संवर्द्धन शीर्षकमा १ अर्ब ३४ करोड ४७ लाख अर्थात ८ दशमलव १९ प्रतिशत रकम छुट्याइएको छ।
हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ३७ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबर विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेटका लागि महानगरले आन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ जुटाउने प्रक्षेपण गरेको छ। त्यस्तै, बाह्य स्रोतमा सशर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख र निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ श्रोत जुट्ने अनुमान गरिएको छ।
महानगरभित्रको जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजारसहित ६ अर्ब १६ करोड ८ लाख २६ हजार रुपैयाँ बराबर आम्दानी हुने र बाँकी ३ अर्ब ५० करोड रुपैयाँ बराबरको श्रोत बैंक मौज्दातबाट ब्यहोर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।