निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं- पोखरा महानगरपालिकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड र बेगनास क्षेत्र जोड्ने गरी फास्ट ट्रयाक सडक निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखराका मेयर मानबहादुर जिसीले विश्व बैंकको सहकार्यमा तालचोक बेगनास सडकलाई नमुना सडकको रुपमा विकास गरिने घोषणा गरेका छन्।
उनले 'मेयर नमुना पूर्वाधार योजना' कार्यक्रमलाइ निरन्तरता दिँदै महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रूपमा विकास गरिने पनि घोषणा गरेका छन्। जिसीले गाउँ-सहर जोड्ने पहुँच सडक निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने नीति लिइने र मुख्य सहरी क्षेत्रमा ओभरहेड र सबवे संरचना निर्माण गर्ने पनि बताएका छन्।
महानगरले ८ वटा पुलमध्ये चारवटा सञ्चालनको तयारीमा रहेको जनाएको छ। पोखरा महानगरपालिका पूर्वाधार कार्यालय कास्की र सडक विभाग गरी ४० करोड रुपैयाँको लागतमा अस्फाल्ट कंक्रिट गर्नका लागि टेन्डर प्रक्रिया सकिएर काम सुरु हुने चरणमा पुगेको महानगरपालिकाले उल्लेख गरेको छ।
मेयर नमुना सडक निर्माणअन्तर्गत पोखरा वडा न १७ को बिरौटादेखि तीनकुनेसम्म सडक, वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको उनले बताएका छन्। चालु आर्थिक वर्षमा १७ किलोमिटर कालोपत्रे गरिएको, ७० किलोमिटर ग्राभेल तथा ९.११ किलोमिटर बाटो ढलान गरिएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।