काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नागरिकता विधेयक र सांसदले बैठक भत्ता नलिने विषयले पनि प्रवेश पाएको छ। बुधबार सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को तय गरेको विषयको एजेन्डा महासचिव विष्णु पौडेलले बैठकमा प्रस्तुत गरेका थिए।
महासचिवले राखेको प्रस्तावको अतिरिक्त एजेण्डामा नागरिकता विधेयक र सांसदले भत्ता नलिने विषय समेट्न स्थायी कमिटी सदस्यहरुले आग्रह गरेका थिए। छलफलका लागि तय भएको विविधि विषयबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सबै कर्मचारीको बैठक भत्ता यो वर्ष नलिने कुरा भएको छ।।संघीय र प्रदेश सांसदले पनि बैठक भत्ता यो वर्ष नलिने कुरा उठेको छ। यस विषयमा अरु पार्टीसँग पनि छलफल गर्ने कुरा उठेको छ।’
संसदीय कमिटीबाट पारित नागरिकता विधेयकको विषयमा समेत छलफल हुनुपर्ने माग उठेकाले उक्त विषयपनि बैठकको एजेन्डा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। रुकुम पश्चिम चौरजहारी घटनाका विषयमा समेत छलफल हुनेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले बैठकमा खुला र स्वस्थ बहस गर्न स्थायी कमिटी सदस्यलाई आग्रह गरेका थिए। कमीकमजोरी रहेको भए आत्मसमीक्षा गरी अघि बढ्न तयार हुनुपर्ने प्रचण्डको धारणा थियो।
यस अघि पटक/पटक सर्दै आएको बैठकको एजेण्डामा कोभिड-१९ रोकथाम र नियन्त्रण,सीमा,सरकारको काम,पार्टी सांगठिनक विषय,एमसिसीलगायत छन्। बुधबार दुई अध्यक्ष बोलेर सकिएको स्थायी कमिटी बैठक शुक्रबार पुनः बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।