फाइल तस्बिर
धनगढी- प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले आफ्नो ठाउँबाट उठेर अवरोध गरेका थिए।
सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए। तर सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनमा नबसेपछि एक जनालाई आफ्नो भनाइ राख्न अनुमति दिए।
त्यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरुको पिसिआर जाँच नहुँदा सङ्क्रमणको थप जोखिम बढेको क्वारेन्टाइनको अवस्था लथालिङ्ग भई जनता त्रसित हुँदा पनि प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पिसिआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न माग गरे।
त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराएका थिए। बुधबारको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।