काठमाडौं–उपत्यकाका स्टेसनरी पसलहरुले पाठ्यपुस्तकलगायत अन्य शैक्षिक सामग्री महंगो मूल्यमा बेच्ने गरेको भन्ने गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्न सुरु गरेको छ। विभागले गत सातामात्र २ वटा स्टेसनरीलाई कारबाही गरेको छ भने अर्को एक स्टेसनरीलाई स्पष्टीकरण सोधेको छ।
विभागका प्रवक्ता रवीन्द्र आचार्यका अनुसार पछिल्लो समय विभागमा पाठ्यपुस्तक र शैक्षिक सामग्री महंगो मूल्यमा बेचेको भन्ने धेरै आउने गरेका छन। ‘केही समय पहिले मेडिकल र खाद्यान्न सामग्रीमा बढी मूल्य असुली गरेको भन्ने गुनासो बढी आउँथे। तर अहिले पुस्तक पसलले बढी मूल्यमा पाठ्यसामग्री बेचेको गुनासो बढी आउँछन। त्यहीकारण विभागले पनि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको छ,’ आचार्यले भने।
शैक्षिक संस्था अझै खुलिनसकेको भए पनि विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक किन्न अनिवार्य गरिसकेका छन्। अझ विद्यालयले नै निश्चित पसलबाटमात्र पाठ्यपुस्तक किन्नुपर्ने नियम बनाएर महंगोमा किताब किन्न लगाई त्यसको कमिसन लिने गरेको जस्ता गुनासो पनि विभागमा आउने गरेका छन्। यद्यपि, विभागले भने खरिद तथा बिक्री बिल–बिजकका आधारमा मुल्यसूचीअनुसार पाठ्यसामग्री बिक्री वितरण भए–नभएको बारेमात्रै अनुगमन गर्ने गरेको छ।
विभागले यो हप्तामात्र २ वटा स्टेसनरीलाई कारबाही गरिसकेको छ। विभागका अनुसार स्वयम्भुको कमल बुक्स एण्ड स्टेसनरीलाई २ लाख रुपैयाँ र सिनामंगलको डाइनामिक बुक्स एण्ड स्टेसनरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो।
कमल बुक्स एण्ड स्टेसनरीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) क बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले तथा डाइनामिक बुक्स एण्ड स्टेसनरीले खरिद तथा बिक्रीको बिलबिजक नै नराखेको भेटिएको विभागले जनाएको छ।
त्यसैगरी विभागले मध्यबानेश्वरको अभिषेक बुक्स एण्ड स्टेसनरीलाई चालु आर्थिक वर्ष भित्रमा कारोबार भएको खरिद तथा बिक्री बिल र व्यवसाय दर्तासँग सम्बन्धित सम्पूर्ण कागजातसहित बिहीबारसम्म विभागमा उपस्थित हुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।