काठमाडौं-नेपाल विद्यार्थी संघले कोरोना संक्रमणको त्रास कायमै रहेको समयमा शिक्षा क्षेत्रमा भद्रगोल र बेतिथि बढेको जनाएको छ।
संघले त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, डीन तथा क्याम्पस प्रमुखहरू नियुक्त गर्दा वरिष्ठता र जेष्ठतालाई कुल्चेको आरोप लगाएको छ। क्षमतालाई आधार नबनाई सत्तारुढ दलको सिफारिसलाई महत्व दिइएको उल्लेख गर्दै संघले आइओएमको डीन नियुक्तिमा मापदण्ड मिचिएको आरोप लगाएको छ। डिनमा दिव्यासिंह शाह नियुक्त गर्ने निर्णय बदर गर्न माग गरिएको छ।
विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा नेकपाले आन्तरिक गुटगत भागबण्डा गर्ने थलो बनाएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ। यस्तै, पोखरा,संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायतका पदाधिकारी नियुक्त गर्न माग र पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्न संघले माग गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।