काठमाडाैं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० काे नतिजा प्रकाशन गर्न ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।
कोरोना महामारीका कारण लकडाउन जारी भएपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले कार्यविधि जारी गरेको हो।
विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्यांकन गर्दा २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अंकभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ ।
मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो।
कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई संकलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ। कार्यविधिमा समय तालिका भने खुलाइएको छैन।
गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।