सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ। नगर प्रमुख डम्बर अर्यालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि तय गरिएका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि १ अर्ब १३ करोड ३७ लाख २६ हजार ४ सय ५८ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि छुट्टै ५ करोड १० लाख र स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रमका लागि ८ करोड ८४ लाख विनियोजन गरिएको छ।
बजेटमा कृषि तथा पशु विकास, पर्यटन साथै पूर्वाधारमा जोड दिइएको छ। कोभिड-१९ का कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई बसेका युवाहरुलाई आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेसामा संलग्न गराइने पनि कार्यक्रम रहेको छ।
पशुलाई सुत्केरी भत्ता, शीतभण्डार निर्माण साथै तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा जोड दिने कार्यक्रम प्रस्तुत गरिएको छ। मेलम्ची स्वप्न सरोवर निर्माणलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अघि बढाइने गरी प्राथमिकतामा राखेको छ। नगरपालिकाको एकीकृत गुरुयोजनाका आधारमा पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।