काठमाडौं– नेपालीहरुको श्रम गन्तव्य मुलुक कतारबाट २७ जुन शनिबार १७४ नेपाली स्वदेश फर्काउने तयारी गरिएको छ।
नेपाल एयरलाइन्सको दोस्रो उडानमार्फत उनीहरुलाई फर्काइने दूतावासले जनाएको छ। यसअघि २० जुनको नेपाल एयरलाइन्सको उडानका लागि नाम प्रकाशित भई तोकिएको उडानमार्फत विभिन्न कारणले जान नसकेका यात्रुसमेत सो उडानमार्फत आउन सक्ने दूतावासले जनाएको छ। जसका लागि यात्रुले सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्नुपर्ने उल्लेख गरिएको छ।
२७ जुनको उडानमा सिट क्षमता अपुग भई रोकिएका व्यक्तिलाई प्रतिक्षा सूचीमा राखिने र अर्को उडानमा पठाइने दूतावासले जनाएको छ। यात्रु नपुगेमा पछिल्ला उडानका लागि तयार पारिएको सूचीका यात्रु समावेश गरिने दूतावासले जनाएको छ। यसअघि पहिलो चरणका दुई उडानमार्फत १ सय ९२ जना नेपाली स्वदेश फर्किएका छन्। कतारबाट २० वटा शव समेत स्वदेश ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।