काठमाडौं– कोरोना परीक्षणको पिसिआर रिपोर्टबिनै अदालतमा उपस्थित गराइएको भन्दै मुद्दाको सुनुवाई नै नगरी जिल्ला अदालत काठमाडौंले अभियुक्तहरु फिर्ता पठाउन थालेको छ।
सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेका थिए। तर मंगलबार अदालतमा उपस्थित गराइएका अभियुक्तको पिसिआर रिपोर्ट भएको तर प्रहरीको नभएको भन्दै अदालतले फिर्ता पठाएको हो।
मंगलबार मानव बेचबिखन तथा ओसार पसार कसुरका अभियुक्त मिना वलीलाई कोरोना जाँच गरेको पिसिआर नेगेटिभ रिपोर्टबिनै प्रहरीले अभियुक्त उपस्थित गराइएको भन्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले फिर्ता गरेको हो।
प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट रहेर काम गर्नुपर्ने भएकाले उनीहरूको समेत पिसिआर जाँच अनिवार्य भएको आदेशमा भनिएको छ।
अदालतमा उपस्थित हुने सेवाग्राही, प्रतिवादीहरु, सुरक्षाकर्मीहरु, सरकारी वकिल एव कानून व्यवसायीहरु र अदालतमा कार्यरत जनशक्तिले समेत कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्ने आदेश जारी गरेको हो।
पिसिआर रिपोर्टमा कोरोना नदेखिएको अवस्थामा मात्रै अदालतमा उपस्थित हुन पाइने अदालतको आदेशमा उल्लेख गरेको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।