काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट दुई विद्यार्थी संगठनहरु राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त)बीच एकीकरण गर्नका लागि निर्माण गरिएका दुई वार्ता समितिबीच मंगलबार पहिलो चरणको बैठक भएको छ।
बैठकमा राप्रविसंका तर्फबाट वार्ता संयोजक वरिष्ठ उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा र राप्रविसं (संयुक्त) का तर्फबाट वार्ता संयोजक युवराज रानालगायतका सहभागी भएको राप्रविसं केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिए।
बैठकमा दुवै पक्षले आ–आफनो संगठनको विधान हस्तान्तरण गरेका थिए। बैठकले पुनः संयुक्त बैठक बसि संगठनको एकतालाई मूर्तरुप दिने र छिट्टै संयुक्त सचिवालय निर्माण गरि राष्ट्रियताको पक्षमा र शैक्षिक विकृतिविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको फडेराले जानकारी दिए।
गत वर्ष फागुनमा माउ पार्टी राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भएको थियो। जनवर्गीय संगठनबीच पनि एकता गर्ने क्रमको सुरुवात स्वरुप गत शनिबार राप्रविसं र आइतबार राप्रविसं (संयुक्त) ले आ–आफ्ना तर्फबाट वार्ता समितिहरु निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।