काठमाडौं- अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले प्राथमिक बजारको तुलनामा दोस्रो बजारको विकास हुन नसकेको बताएका छन्। सोमबार नेपाल धितोपत्र बोर्ड र अर्थसमितिका पदाधिकारीहरूबीच शेयर बजारको विषयमा भएको छलफलमा दाहालले नेपालको वित्तीय प्रणालीमा पुँजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए।
आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिवृद्धि गर्नुपर्ने, पुँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजारसम्बन्धी पूर्वाधारको विकास गर्नका लागि मार्गनिर्देश गरेका छन्।
साथै बजारको विकासका लागि सम्बन्धित निकायहरूको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिएका थिए। उनले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालनसम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए।
बोर्डका अध्यक्ष ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरूको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए। उनले पुँजी बजार संवेदनशील बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरूमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिए।
उनले पुँजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने बताए।
बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरू, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका बारेमा प्रस्तुतीकरण गरेका थिए। उक्त कार्यक्रममा माननीय सदस्य मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको राखेका थिए।
अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो थियो। राम कुमारी झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नुपर्ने, नेपालको पुँजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने, बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखेकी थिइन्।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनीय कार्यहरू गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इ-डिआइएसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभ कर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।