काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मेडिकल सामग्री खरिद प्रक्रियाबाट सेना पछि हटेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा अर्यालले यस्तो बताएका हुन्। ‘सेना उद्धारका काममा मात्रै लागोस् भनी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रीय समिति (सिसिएसी)ले मेडिकल सामग्री खरिदको सबै कार्य मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
सेनाले किनेको मेडिकल सामान महंगो भएको खुलासा भएसँगै सैनिक नेतृत्वले खरिद प्रक्रियाबाटपछि हट्ने निर्णय गरेकोबारे नेपाल लाइभले समाचार प्रकाशित गरेको थियो।
ओम्नीमार्फत खरिद भएका मेडिक सामाग्रीमा भ्रष्टाचार भएको खुलेपछि चीनबाट मेडिकल सामाग्री खरिदको जिम्मा सेनाले पाएको थियो। सेनाले खरिद प्रक्रियामा अनिच्छा देखाएपछि खरिदको काम अब स्वास्थ्यले मात्र गर्नेछ।
पछिल्लो खरिद प्रक्रियाको विवादबारे छानबिन शुरु गर्दै लेखा समितिले सचिव अर्याललाई सोमबार समितिको बैठकमा बोलाएको थियो। बैठकमा विशेष परिस्थिति रहेकाले मन्त्रिपरिषदबाटै स्वीकृत गराएर मेडिकल सामग्री खरिद गरेको भन्दै सचिव अर्यालले मन्त्रालयको बचाउ गरेका थिए। ओम्नी ग्रुपलाई सामान खरिदको जिम्मेवारी दिँदा सार्वजनिक खरिद ऐनलाई नमिचिएको उनको दाबी थियो।
ओम्नी समूहले सामान खरिद गरेको समयमा सचिव अर्याल स्वास्थ्य मन्त्रालयमा आइसेकेका थिएनन्। उनले भने, ‘छोटो प्रक्रियाबाट खरिद गर्नका लगि मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएको थियो।’
कोरोना रोकथाम र नियन्त्रणका लागि मन्त्रालयलाई हालसम्म २ अर्ब ९० करोड रकम प्राप्त भएको जानकारी दिँदै उनले बैठकमा उनले खरिद गरेका तथा सहयोगमा प्राप्त मेडिकल सामग्रीमध्ये २० प्रतिशत केन्द्रमा राखेर बाँकीलाई प्रदेश र स्थानीय तहमा पुर्याइएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।