काठमाडौं- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा पशुपन्छी विज्ञहरूले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन अनिवार्य हुनुपर्ने बताएका छन्। नेपालमा ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको संख्या झन्डै ५२ हजार छ।
‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ ले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता हुन एसइई परीक्षा उत्तिर्ण र अनुमतिप्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३५ दिनको भेटेनरीसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था छ।
विज्ञहरूले पशु चिकित्सा सेवा संवेदनशील विषय भएकाले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता अभिवृद्धिमा सरकारले थप सहयोग गर्नुपर्ने वा नेपाल सरकारको भेटेनरी विषय विशेषज्ञको अनुमतिले कामको जिम्मेवारी सुम्पिनुपर्ने बताएका छन्। समितिका सभापति पूर्णकुमारी सुवेदीको सभापतित्वमा सोमबार आयोजित बैठकमा पशुपन्छी विज्ञ नाराणप्रसाद घिमिरेले कानूनले ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई असीमित अधिकार दिए पनि उनीहरूको क्षमता विकास गर्न थप सहयोगको व्यवस्था हुनुपर्ने सुझाव दिए।
‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धमा सुझाव लिने अभिप्रायबाट आयोजित बैठकमा विज्ञ जनक रावलले अधिकारलाई कुण्ठित पार्न नहुने तर, ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई ऐनको दायरामा ल्याउनुपर्ने र भेटेनरी चिकित्सकको सुपरिवेक्षणमा रहनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिए। बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले विज्ञका रचनात्मक सुझावलाई सरकारले सकारात्मक रुपमा आत्मासाथ गर्दै अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।