काठमाडौं- स्पेनिस ला लिगामा शीर्ष स्थानमा रियल मड्रिड र बार्सिलोनाको अंक बराबर भएको छ। ३० खेल सकिँदा दुवै क्लबको ६५ अंक रहेको छ। आइतबार राति रियल मड्रिडले रियल सोसिडाडलाई २-१ ले हराएसँगै अंक बराबर भएको हो।
मड्रिडको जितमा खेलको ५०औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरेका थिए। खेलको ७०औँ मिनेटमा करिम बेन्जेमाले दोस्रो गोल गरे। सोसिडाडका लागि ८३औँ मिनेटमा मिकेल मेरिनोले गोल गरे पनि हार टर्न सकेन।
बार्सिलोनाले सेभियासँग बराबरी खेलेपछि मड्रिडले शीर्षमा पुग्ने अवसर पाएको हो। अंक बराबरी भए पनि हेड टु हेडका आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ।
यदि लिग सकिँदासम्म बार्सिलोना र रियल मड्रिडको अंक बराबरी भएमा हेड टु हेडका आधारमा उपाधि रियल मड्रिडले जित्नेछ। रियल मड्रिड र बार्सिलोनाले पहिलो खेल गोलरहित बराबरी खेलेका थिए भने दोस्रो खेल रियल मड्रिडले २–० ले जितेको थियो।
लिगमा रेलिगेसन जोनमा पनि प्रतिस्पर्धा उस्तै देखिन्छ। मायोर्का, लेगानेस र स्पानियोल रेलिगेसन जोनमा देखिए पनि त्यसमाथि सेल्टा भिगो, आइबरको पनि अंक भिन्नता ठूलो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।