काठमाडौं–स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारबारे संसदको सार्वजनिक लेखा समितिले आज सोमबार प्रधानमन्त्री कार्यालयका सिसिएमसीको जिम्मेवारी पाएका सचिव र स्वास्थ्य मन्त्रालयका सचिवलाई बोलाएको छ। यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई पनि समितिले बोलाएको छ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब पनि माग गरेको छ।
सरकारले कोरोना महामारी नियन्त्रणमा हालसम्म १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। सचिवलाई पत्राचार गर्दै १० अर्बको विवरण मगाइएको समितिका सचिव रोजनाथ पाण्डेले बताए। नेपाली सेनाले औषधि खरिद गर्दा महँगोमा गरेको भन्ने सूचना आएका कारण सेनासँग पनि विवरण मागिएको समितिले जनाएको छ।
सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नीसँग सम्झौता गरेको थियो। तर सम्झौता विवादमा परेपछि सरकारले पछि रद्द गरेको घोषणा गरेको थियो। ओम्नीले बजार मूल्यभन्दा महँगोमा खरिद गरेको र प्रक्रिया मिचिएको भनेर चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।