काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका स्थानमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।
हाल देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले अलर्ट जारी गर्दै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, सिन्धुली, काठमाडौं उपत्यका, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास मध्यम तथा भारी बर्षा भईरहेको र ती जिल्ला भई बहने साना खोलामा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्न सक्ने जनाएका छ।
यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान
असार ०८ गते
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
रातिः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असार ०९ गते
दिउँसोः देशका सबै प्रदेशका अधिकांश स्थानहरुमा आँशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
असार १० गते
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशका सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।