सप्तरी–एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मंगलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
बालिकाले गाईवस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएका बेला एक्लै भएको मौका पारी लालबहादुरले बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। विवाहित लालबहादुर एक छोरा र एक छोरीका बाबु हुन्। पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।
यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय किशोरसँग गरिदिएको स्थानीय गीता देवले बताइन्। ‘उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताइन्, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिइन्,’ देवले भनिन्, ‘यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।’
पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो। बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उनीहरूलाई तारेखमा रिहा गरिएको डिएसपी भारतीले जानकारी दिए। उनले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।