काठमाडौं- सरकारले सार्वजनिक सवारी साधन चलाउन रोक लगाए पनि बढी भाडा लिएर सवारी चलाएको फेला परेपछि तीन जना चालक पक्राउ परेका छन्। महानगरीय प्रहरीवृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४५८० नम्बरको माइक्रो चालक राहुल डबगर, झापाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५८३४ नम्बरको यात्रुबाहक बसका चालक सुनसरीका राकेश शाक्य र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरका बस चालक बाँकेका रुद्रबहादुर खत्रीलाई पक्राउ गरेको हो।
सोधपुछको क्रममा राहुल डबगरले प्रतियात्रु दुई हजार भाडा लिई सात जना यात्रीबाट १४ हजार रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट चढाई ८ सय भाडा लिएको, शाक्यले १९ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारका दरले ३८ हजार लिएको तथा खत्रीले १५ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारको दरले लिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनका लागि पठाइएको छ।
चालकलाई सवारी साधन, बरामद रकमसहित सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरीवृत्त थानकोटले जनाएको छ।
प्रहरीले बिहीबार पनि ६ जना यात्रु बोकी नेपालगञ्जबाट थानकोटतर्फ आउँदै गरेको बा ४ ख ७३७३ नम्बरको माइक्रो बसका चालक बाँके नेपालगञ्जका विकास शर्मालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।