काठमाडौं- महंगोमा मेडिकल सामग्री खरिद गरेको विवादमा तानिएपछि नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन्। ‘पृतनापति समन्वयात्मक बैठक २०७७’को समापन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
बैठक शनिबार शुरु भएर आइतबार समापन भएको हो। बैठकमा पिएसओज रथी, पृतनापतिहरु र जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरु उपस्थित थिए।
बैठकबारे जानकारी दिन जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस नोटमा उल्लेख भएअनुसार थापाले 'सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न' निर्देशन दिएका थिए।
रणनीति बनाउन निर्देशन
स्रोतका अनुसार बैठकमा गलवान घाटीको विषयमा चीन र भारतबीच भएको मुठभेडपछिको अवस्था र सुरक्षा चुनाौतीबारे समेत समिक्षा भएको थियो। निर्देशनालयले जारी गरेको प्रेस नोटमा चीन र भारतबीचको विवादबारे उल्लेख नभए पनि प्रधान सेनापतिले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकुल प्रभावको अध्ययन गरेर रणनीति बनाउन समेत निर्देशन दिएका थिए। नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न निर्देशन दिएको भने उल्लेख गरेको छ।
प्रेस नोटअनुसार उनले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न निर्देशन दिएका थिए।
माफी पाएर फर्किएकाहरुमाथि निगरानी
स्रोतका अनु्सार बैठकमा कोरोना भाइरस संक्रमण रोकथामको चुनौतीबारे समेत छलफल भएको थियो। अहिलेको गतिमा संक्रमण बढेमा अवस्था चुनौतीपूर्ण हुने भन्दै तयारीको गति बढाउनुपर्नेमा बैठकमा छलफल भएको थियो। विदेशबाट आउनेहरुको व्यवस्थापनमा सेना खटिएको छ।
बैठकमा विदेशबाट उद्दार गरिएकाहरुमध्ये गम्भीर अपराध गरेर जेल बसेका तर आममाफी पाएकाहरु समेत रहेकाले केही समय उनीहरुको गतिविधी निगरानीमा राख्नुपर्ने सुझाव आएको बैठक स्रोतले बतायो। उनीहरुलाई निगरानीमा नराखे आपराधिक समूहको सम्पर्कमा पुगेर सुरक्षा चुनौती बढाउन सक्ने सेनाको आंकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।