काठमाडौं- नेपाल–भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानून बनाएर सीमा सुरक्षाको विषयमा निर्णय माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।
सीमामा कानून बनाएर काँडेतार लगाउने र दुवै देशका नागरिकको आवागमन र ट्रान्जिटमा समेत भिसाको व्यवस्था हुनुपर्ने माग राख्दै आइतबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। यसरी रिट हाल्नेका अभिनेता नवल खड्कासहित तीन अधिवक्ता रहेका छन्। अधिवक्ता शालिकराम सापकोटा, गीता शाह र सुवास विश्वकर्मा तथा कलाकार खड्काले संयुक्त रुपमा निवेदन दर्ता गरेका हुन्। सर्वोच्च अदालते ९ असारमा निवेदनका लागि पेशी तोकेको छ।
निवेदनमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानून बनाउन संघीय संसदसँग माग गरिएको छ। यस्तै सीमा सुरक्षाको म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालको ऐनमा संशोधन गर्दै सम्पूर्ण अधिकारसहितको एउटा छुट्टै सीमा सुरक्षा इकाई गठन र नेपाल–भारत प्रवेशमा एकअर्काले अन्य देश सरह अध्यागमन कानून लागू गर्न माग गरिएको छ।
भारत सरकारले विभिन्न समयमा नेपाल–भारत सीमाका कारण उसको देशमा भएका आतंककारी गतिविधि बढेकोले त्यसलाई रोक्न पनि उचित कदम चाल्नुपर्ने माग रिटमा गरिएको छ।
सीमा तथा दशगजा क्षेत्र अतिक्रमण गरी नेपालका २३ वटा जिल्लाका ७१ स्थानमा ६०,६६२ हेक्टर जग्गा भारतीय अतिक्रमणमा परेको दाबी निवेदनमा गरिएको छ। नेपाली सिमाना जुनसुकै बखत अतिक्रमण गर्ने भारतीय प्रवृत्ति देखिएको र अन्तर सिमाना क्षेत्रमा आतंककारी गतिविधि मौलाएको दाबी निवेदनमा गरिएको छ।
खुला सिमानाको कारणले सीमा क्षेत्रबाट अवैध हातहतियार एवं विस्फोटक पदार्थको ओसारपसार निरन्तर भइरहेको दाबी निवेदनमा गरिएको छ। भारतको खुल्ला सिमानाका कारणबाट नेपाली चेलीबेटीहरुको बेचबिखनको केन्द्रबिन्दु नै भारत बनेको निवेदनमा दाबी गरिएको छ।
संयुक्त राष्ट्रसंघ महिला विकास कोष, माइती नेपालको सर्वेक्षणलाई हेर्दा वार्षिक हजारौं नेपाली महिला भारतमा बिक्री हुन पुगेको देखिन्छ र खुला सिमानाका कारणले भारतीय बाटो हुँदै अन्य तेस्रो मुलुकमा समेत नेपाली महिलाहरुको बेचबिखन हुन पुगेको अवस्था छ निवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।