काठमाडौं- स्पेनिस ला लिगाको उपाधि भिडन्तमा टिमहरुको अवस्था रोचक हुँदै गइरहेको छ। अहिले शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानमा रहेको रियल मड्रिडबीच तीन अंकको मात्र फरक छ।
रियल मड्रिडले आइतबार राति पौने २ बजे रियल सोसिडाडसँग खेल्दैछ। जुन जितेमा शीर्ष स्थानमा अंक बराबरी हुनेछ। त्यसपछि रियल मड्रिडले मायोर्का, स्पानियोल, गेटाफे, एथ्लेटिक क्लब, अलाभेस, ग्रानडा, भिलारियल र लेगानेससँग खेल्नेछ।
शुक्रबार राति सेभियासँग गोलरहित बराबरी खेलेको बार्सिलोनाले अब एथ्लेटिक क्लब, सेल्टाभिगो, एथ्लेटिको मड्रिड, भिलारियल, स्पनियोल, भायाडोलिड, ओसासुना र अलाभेससँग खेल्न बाँकी छ।
शुक्रबार राति सेभियासँग बराबरी खेलेपछि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आउने खेलहरुमा रियल मड्रिडले पनि अंक गुमाउने भन्दै आफ्नो कमजोरी ढाक्न खोजे। अब बाँकी सबै खेल दुवै टिमले जित्ने हो भने उपाधि रियल मड्रिडको हुनेछ। त्यसैले बार्सिलोनाका लागि जितको आधार रियल मड्रिडले अंक गुमाउँदा मात्र सम्भव छ।
बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके भने अब आफूहरुको हातबाट उपाधि फुत्किसकेको र लयमा रहेको रियल मड्रिड अब अंक नगुमाउने बताउँछन्। त्यसमा प्रशिक्षक सेटियन भने सहमत छैनन्। उनी भन्छन्– ‘खेल बराबर भएको दिक्दारीले गर्दा पिकेले त्यसो भनेको हुनुपर्छ। अब आउने दिनमा मड्रिडले सबै जित्छ भन्ने मलाई लाग्दैन।’
आइतबार राति हुने खेलअघि रियल सोसिडाडका प्रशिक्षक इमानोल अल्ग्वासिल अहिले रियल मड्रिड राम्रो देखिएकाले आफूहरुलाई कठिन हुने बताउँछन्। अबको अवस्थामा रियल मड्रिड र बार्सिलोनाको उपाधि सम्भावना उस्तै रहेको भन्दै उनी भन्छन्– ‘शतप्रतिशत तयारीमा नभए पनि जित्न सक्ने कोही टिम छन् भने रियल मड्रिड र बार्सिलोना नै हुन्। हामीले पनि उत्कृष्ट खेल्नुको विकल्प छैन।’
यदि लिग सकिँदासम्म बार्सिलोना र रियल मड्रिडको अंक बराबरी भएमा हेड टु हेडका आधारमा उपाधि रियल मड्रिडले जित्नेछ। रियल मड्रिड र बार्सिलोनाले पहिलो खेल गोलरहित बराबरी खेलेका थिए भने दोस्रो खेल रियल मड्रिडले २–० ले जितेको थियो।
लिगमा रेलिगेसन जोनमा पनि प्रतिस्पर्धा उस्तै देखिन्छ। मायोर्का, लेगानेस र स्पानियोल रेलिगेसन जोनमा देखिए पनि त्यसमाथि सेल्टा भिगो, आइबरको पनि अंक भिन्नता ठूलो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।