काठमाडौं–असार कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास सूर्यग्रहण लागिरहेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिन्छ। सोसाइटीले युट्युब च्यानलमार्फत अहिले ग्रहणको प्रत्यक्ष प्रसारण गरिरहेको छ। नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ ।
आजको ग्रहण कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।