काठमाडौं-महालेखा नियन्त्रक कार्यालय (मलेनिका)ले बन्द आयोजनाको शोधभर्ना चालु आर्थिक वर्षभित्रमा नै फरफारक गर्न सम्पूर्ण निकायलाई परिपत्र गरेको छ। आयोजना बन्द भइसक्दा पनि शोधभर्ना प्राप्ति हुन नसकेको भन्दै कार्यालयले सम्पूर्ण निकायलाई परिपत्र गर्दै चालु वर्षभित्रमा नै त्यसको फरफारक गर्न भनेको हो।
मलेनिकाले शोधभर्ना हुने गरी भएको खर्च रकमको यथाशीघ्र शोधभर्ना प्राप्त गर्ने व्यवस्था मिलाउन तथा शोधभर्ना माग गरिएको 'विथड्रल एप्लिकेसन'को एकप्रति आफूलाई उपलब्ध गराउन पनि भनेको छ। यसैगरी शोधभर्ना रकमको हिसाब मलेनिकामा रहेको अभिलेखसँग भिडान गरी अध्यावधिक गर्न पनि परिपत्रमार्फत् भनिएको छ।
यसैगरी हरेक मन्त्रालय र अन्तर्गत सोझै भुक्तानि र वस्तुगत सहायतातर्फ तालु आर्थिक वर्षको जेठसम्मको खर्च यही असार १० गतेभित्र एकल खाता कोष प्रणालीमा प्रविष्ट गराइ सक्न र २०७७ असार महिनामा भएको खर्च असार मसान्तभित्र प्रविष्ट हुने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
मलेनिकाले मन्त्रालय र अन्तर्गतका निकायहरूको रकमान्तर, बजेट थपघट र स्रोतान्तरका कारोबारहरु फरक पारी विगतमा प्रतिवेदन प्राप्त हुने गरेकाले अबदेखि त्यस्ता गल्ति नदोहोर्याउन पनि भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।