काठमाडौं- गोरखापत्र संस्थानका विज्ञ सल्लाहाकार टिकाराम राईलाई हटाउने खेल शुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले गोरखापत्र संस्थानका विज्ञ सल्लाहकार राईले जिम्मेवारी अनुसार काम नगरेको भन्दै हटाउने तयारी गरेका हुन्।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राईलाई गोरखापत्र संस्थानको व्यवस्थापन, प्रिन्टिङ र आर्थिक पक्ष हेर्ने गरी डेढ वर्षअघि विज्ञ सल्लाहकारका रूपमा नियुक्त गरेका थिए।
गोरखापत्रलाई निजी क्षेत्रका सञ्चार प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्ने गरी सुधार आफूले गरेको दाबी राईको छ। ‘गोरखापत्रलाई क्लिन कर्पोरेट अफिस बनाउँदै थिएँ,' राईले भने, ‘हटाउने चलखेल सुरु भयो रे भन्ने सुनेको छु। तर औपचारिक रूपमा कुनै पनि जानकारी आएको छैन।’
विराटनगर र कोहलपुरबाट गोरखापत्रको क्षेत्रीय संस्करण प्रकाशन सुरु गर्न राईले महत्वपूर्ण भूमिका खेलेका थिए। पत्रिकाको वितरण प्रणाली चुस्त बनाउँदै कर्मचारी र पत्रकारको व्यवस्थापनमा समेत उनले सुधार गरेका थिए। अफिस समयमा काम गर्नैपर्ने, अफिस आउनैपर्ने नियममा कडाई गरिएपछि धेरै राजनीतिक दलसँग निकट भएका कर्मचारी तथा पत्रकारहरू राईसँग असन्तुष्ट बनेका थिए।
पछिल्लो समय गोरखापत्रको कोहलपुर स्टेसनका लागि प्रेस किन्न सल्लाहकार राईको पहलमा बजेट माग गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटकाहरूलाई नियुक्ति दिइरहेका बेला गोरखापत्र सुधारको पक्षमा लागेका राईलाई भने हटाउने तयारी भएको भन्दै नेकपाकै केही नेता तथा सञ्चारकर्मी असन्तुष्ट बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।