काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले नागरिकता दिने विषयमा पार्टीको धारणा स्पष्ट गरेको हो।
‘नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकता बारे छलफल गरेर निष्कर्ष निकालिएको छ। जसअनुसार, त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो देशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक नागरिकता पाउनु उपयुक्त हुन्छ’, बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
दुई वर्षदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकता विधेयकका केही विषय टुंगिन नसक्दा विधेयक अघि बढ्न सकेको छैन। पछिल्लो समय गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन भन्दै आइतबारसम्मको समय मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।