बेइजिङ- चीनले विदेशबाट आयात हुने खाद्य सामग्रीमार्फत् कोरोना संक्रमण भित्रिएको आशंकामा परीक्षणलाई कडा पारेको छ।
चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ संक्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाइ गरेको हो।
चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा वस्तीहरूलाई बन्द गरी त्यहाँका सयौं हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ।
यसैबीच राजधानी बेइजिङमा थप २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ।
पछिल्लो चरणमा संक्रमण भेटिएका बिरामीको लक्षण यूरोपका बिरामीको लक्षणसँग मिल्दोजुल्दो रहेकोले यतिबेलाको संक्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए।
चीनमा पछिल्लो चरणमा फैलिएको संक्रमण यूरोपमा अहिले आउने बिरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ।
सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन्।
यसै आधारमा चीनमा पछिल्लो समय देखिएको संक्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो।
चीनले सीफुडका १५ हजार ६३८ नमूना संकलन गरी परीक्षण गरेको थियो तर कुनैमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।