काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउन खुकुल्याएको समयमा सवारी साधन संचालनमा जोरबिजोर प्रणाली कडाइका साथ लागू गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा यो प्रणाली लागू गराउन कडाइ गरिएको जानकारी दिएको हो।
जोरबिजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाइ गरेको जानकारी गराएको हो। महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्यमुख्य चोकहरूमा प्लेकार्डमार्फत् सचेतना दिइरहेको छ भने अर्कातर्फ जोरबिजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाइन्टहरू राखी थप कडाइ गरिरहेको छ।
मात्रै अटेर गरी जोरबिजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९ सय ४८ वटा दुई पाङ्ग्रे, २ सय ४७ भाडाका ट्याक्सी र १ सय ६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १ हजार ३ सय ५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए।
एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए। हालसम्म लकडाउन कार्यान्वयनमा आम नागरिकले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ।
काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने १२ हजार ५ सय ८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।