काठमाडौं– भारत–पाकिस्तानको भूगोल र राजनीतिक रुपमा मात्रै होइन हरेक क्षेत्रमा बेमेल भएकै हुन्छ। यसको छायाँ खेलकुदमा पनि छ। तर यस्ता पाकिस्तानी खेलाडी छन्‚ जो भारतीय खेलाडी रोहित शर्मालाई आफ्नो रोल मोडल मान्छन्।
विश्वकै चर्चित र सर्वाधिक लोकप्रीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग भारतमा एक महिनासम्म चल्छ। टेष्ट राष्ट्रदेखि एसोसिएट राष्ट्रका खेलाडीले समेत आइपिएल खेल्छन्। तर पाकिस्तानी खेलाडीलाई प्रतिबन्ध छ। यसको मुख्य कारण भारत पाकिस्तानबीचको विवाद हो। कुनै पनि खेलमा भारतीय खेलाडी पाकिस्तान गएर खेल्दैनन्।
खेलकुदमा यी दुई राष्ट्रबीच यतिसम्म हुन्छ कि एउटाले भाग लिएको खेलमा अर्कोले लिनै मान्दैनन्। भारत र पाकिस्तानबीच खेलकुदमा सित युद्ध छ भन्दा खासै फरक पर्दैन। यस्तै पृष्ठभूमिबाट अघि बढिरहेको भारत र पाकिस्तानी खेलकुदमा हैदर अलीको जन्म भएको छ।
हैदर अली पाकिस्तानको यू–१९ क्रिकेट टिमका मुख्य खेलाडी हुन्। सन् २००० मा एटोक शहरमा जन्मिएका युवा स्टार हैदर आफ्नो आदर्श व्यक्ति भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा भएको बताउँछन्।
भिडियो कन्फ्रेन्समा हैदरले रोहित शर्माको खुलेर प्रशंसा गर्दै उनीजस्तै बन्ने पनि बताएका छन्। ‘मलाई रोहित शर्मा एकदमै राम्रा खेलाडी लाग्छ। उनले टप अर्डरमा आक्रामक सुरुवात गराउन चाहन्छु। उनले जस्तै खेल्न चाहन्छु। उनी तीनै फर्म्याटको लागि यस्तो खेलाडी हुन्, जो तीनै फर्म्याटमा फिट हुन सक्छन्। त्यसैले उनी मेरो रोल मोडल हुन्,’ हैदरले भने।
हैदरले २०१५ देखि क्रिकेट खेल्न सिके। २०१६ बाट मात्रै ड्युज बलले क्रिकेट सिक्न थालेका उनी यु–१६ हुँदै यु–१९ राष्ट्रिय टिममा परेका प्रतिभाशाली खेलाडी हुन्। उनलाई पाकिस्तानका बाबर अजामजस्तै खुवी भएका ब्याट्सम्यानको रुपमा हेर्न थालिएको छ।
रोहित शर्मा उनलाई मन पर्नुको कारण खुलाउँदै उनी भन्छन्, ‘उनी ५० रन पूरा गरेपछि शतकतिर बढ्छन्। एक सय ५० हुँदै २०० रन सोचिरहेका हुन्छन्। म यही गर्न चाहन्छु। रोहित एक खेलाडीमात्रै होइन वास्तविक ‘म्याच विनर’ पनि हुन्।’
हैदर अलीमा उत्कृष्ट ब्याट्सम्यान हुने सबै गुण छ। २०२० फेब्रुअरीमा सम्पन्न यु–१९ विश्वकप क्रिकेटको भारतविरुद्ध पाकिस्तानले नमिठो हार व्यहोर्न पुग्यो। १० विकेटको त्यो हारले हैदरको मुटुमा अझै पनि घोचिरहेको छ। तर हैदरले भने उत्कृष्ट प्रदर्शन गरेका थिए।
सेमिफाइनलमा भारतविरुद्ध उनले बनाएको ५६ रनको अर्धशतक उनको एउटा पहिचान हो। एकपछि अर्को खेलमा अझै राम्रो गर्ने सोच बनाएका उनी अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँछन्।
देश सधैं आफूभन्दा माथि हुन्छ। देशको लागि राम्रो खेल्ने सबैले अवसर पाउँदैनन्। पाएपनि धेरैले अवसर सदुपयोग गर्न सक्दैनन्। हैदरलाई यस्तै लाग्छ। राष्ट्रिय टिममा पर्दै पाकिस्तानलाई एउटा उचाइमा पुर्याउने सपना देशका हैदर क्रिकेटको तीनै फर्म्याटमा राम्रो गर्ने बाचा राख्छन्।
भन्छन्, मेरो लक्ष्य नै पाकिस्तानबाट खेल्ने। सपना छ, क्रिकेटको तीनै फम्र्याटमा राम्रो खेल्न सकूँ। तीनै फम्र्याटमा मेरो अभ्यास राम्रो भइरहेको छ। केही दिनअघि पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न अवसर पाए। राम्रो गरे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।