काठमाडौं- स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध रियल मड्रिडका लागि मार्को एसेन्सियो खेलको ७४औँ मिनेटमा फेडेरिको भालभर्देको स्थानमा मैदान प्रवेश गरे। त्यसको ३० सेकेण्डमै गोल गरे। चोटका कारण ३ सय ३० दिनमा मैदान आएका एसेन्सियोको छोटो समयमा ठूलो प्रभाव रह्यो।
८६औँ मिनेटको करिम बेन्जेमाको गोलमा पास मिलाएका एसेन्सियोले त्यसअघि आफैले गरेको गोल पनि उत्कृष्ट भलि गोल थियो। फर्लान्ड मेन्डीको क्रस पासमा एसेन्सियोको गोलले रियल मड्रिड २–० ले अघि बढेको थियो। त्यसअघि ६१औँ मिनेटमा बेन्जेमाले नै गोल गरेका थिए।
ला लिगामा शीर्ष स्थानको बार्सिलोनाभन्दा दुई अंकले पछि रहेको रियल मड्रिडका लागि एसेन्सियो फर्कनु, इडन हाजार्ड लयमा हुनु सुखद देखिएको छ। २४ वर्षका एसेन्सियोले घाइते भएर फर्किएपछिको पहिलो अवसरमा नै आफूलाई प्रमाणित गरे। यसका साथै हाजार्ड–बेन्जेमाको तालमेल पनि मिलेको देखिन्छ।
लामो समयपछि मैदान प्रवेश गरेका एसेन्सियोको गोल बन्द रंगशालामा भएको हुँदा दर्शकको उत्साह नदेखिए पनि बाहिर रहेका टिमका साथीहरु उठेर ताली बजाइरहेका थिए।
गएको जुलाईमा आर्सनलविरुद्ध अमेरिकामा खेलिरहँदा एसेन्सियोको घुँडामा चोट लागेको थियो। जसले गर्दा उनी सिजनभर मैदान बाहिर हुने देखिएको थियो। तर कोरोना माहामारीका कारण लिग रोकिएकाले एसेन्सियोले यही सिजन मैदान फर्कने मौका पाए।
गोल गरेपछिको एसेन्सियोको हाँसो पनि हेर्नलायक थियो। ‘मलाई मैदान फर्कन साच्चै नै धेरै इच्छा थियो। त्यसका लागि कडा मेहनत गरेको धेरै समय भइसकेको थियो। अहिले खेल्न पाउँदा, गोल गरेर जित्न पाउँदा म निकै खुसी छु’ खेलपछि एसेन्सियोले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।