काठमाडौं-सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका दरखास्त आव्हान गरेको छ। बोर्डका तत्कालीन सिइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सूचनाअनुसार योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्नेछन्।
लगानी बोर्डको सिइओ हुन अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तिय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव हुनुपर्छ। ३५ वर्ष पुरा भइ ६५ वर्ष उमेर पुगेका व्यक्ति यसका लागि योग्य हुन्छन्।
सिइओ पद खाली भएपछि सञ्चालक समितिको बैठक पनि बस्न सकेको छैन। गत माघ २२ गते समितिको ४३ औं बैठक बसेपछि अर्को बैठक हालसम्म पनि बसेको छैन। बोर्ड बैठकमा पेश गरिने प्रस्तावहरुको सूची तयार गर्ने, प्राप्त भएका प्रस्तावहरुको सूची तयार गरी मूल्याङ्कनसहित बोर्डसमक्ष पेश गर्ने, बोर्डबाट भएका निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, कार्यान्वयनका लागि स्वीकृत परियोजनाहरुको कार्यान्वयनको अनुगमन, समीक्षा, मूल्यांकन गर्ने वा गराउने लगायतका काम सिइओले गर्ने भएकाले सञ्चालक समिति बैठक बस्न नसकेको हो।
कार्यकारी प्रमुखको नियुक्तिका लागि बोर्डसमक्ष सिफारिस गर्न सरकारले बोर्ड उपाध्यक्षसमेत रहने अर्थमन्त्रीको संयोजकत्वमा छनाेट समिति गठन गर्छ। त्यस्तो समितिले प्रतिस्पर्धाका आधारमा तीनजना व्यक्तिको नाम सिफारिस गरेपछि एकजनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्छ।
लगानी बोर्ड ऐनअनुसार सिइओ नियुक्त भएको ४ वर्ष र सरकारले चाहेको खण्डमा थप १ वर्ष कार्यकाल थप्न सकिने व्यवस्था छ। तर यस अघिका सिइओ अधिकारीलाई भने पहिलो ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी छँदै सरकारले गभर्नरमा नियुक्त गरेपछि बोर्डबाट राजीनामा गरेका थिए। अधिकारी २०७३ असार ९ गते ४ वर्षका लागि लगानी बोर्डको सिइओ नियुक्त भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।