फाइल फोटो काठमाडौं– रसुवागढीबाट एकतर्फीरूपमा नेपालमा सामान पठाउन चीन सहमत भएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउँदै नाका सञ्चालन गर्न चीन सहमत भएको हो।
नेपालले दुई देशबीचको यो व्यापारिक नाका खोल्न राखेको प्रस्तावमाथि सकारात्मक जवाफ दिँदै चीनले नेपालमा सामान निर्यातका लागि मात्रै नाका खोल्न सहमति जनाएको छ। चिनियाँ पक्षको सहमतिसँगै नाका खोल्न नेपाली पक्षले तयारी अघि बढाएको छ।
'हामीले आवश्यक तयारी अघि बढाएका छौं, भन्सार तयारी अवस्थामा छ,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, 'अन्य पक्षसँग समन्वय गरी अब नाका सञ्चालनमा ल्याइनेछ।'
चिनियाँ पक्षले दुई देशबीचको व्यापारिक नाका सञ्चालनको आवश्यक तयारी दुवै स्थानीय सरकारले अघि बढाउन सक्ने पनि जनाएको छ। उसले कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै तत्कालका लागि यात्रु आवागमन भने गर्न नसकिने जानकारी नेपाललाई गराएको छ।
चीनमा कोरोना भाइरसको जोखिम बढेसँगै दुई देशबीचको व्यापारिक नाका बन्द गरिएको छ। लामो समय बन्द भएको नाका सञ्चालनका लागि नेपालले भन्सारसहितका कर्मचारी पठाइसकेको छ। सँगसँगै कर्मचारी पठाइएको तातोपानी नाका सञ्चालनमा आइसकेको भए पनि रसुवागढी खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।