काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पार्दै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाएको छ।
बिहीबार राति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडले भ्यालेन्सियालाई ३-० गोलअन्तरले पराजित गरेको हो। रियल मड्रिडको जितमा करिब मेन्जिमाले दुई र मार्को एसेन्सियोले एक गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा तीन गोल गर्दा भ्यालेन्सियाले भने पाएको अवसर पनि सदुपयोग गर्न सकेन।
खेलको ६१औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको ७४औं मिनेटमा एसेन्सियोले गोल गर्दै २–० गोलको अग्रता दिलाए। ८६औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० गोलको अग्रता दिलाए। खेलको ८९औं मिनेटमा लि काङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
भ्यालेन्सियाविरुद्ध दुई गोल गरेका बेन्जिमा रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन्। रियलका लागि सर्बाधिक गोल गर्ने खेलाडीमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो छन्। उनले रियलका लागि ४५० गोल गरेका छन्। त्यस्तै, राउलले ३२३, अल्फ्रेडो डि स्टेफानोले ३०८ र सन्तिलानाले २९० गोल गरेका छन्। पाँचौं स्थानमा रहेका बेन्जिमाले योसँगै २४३ गोल पु¥याएका छन्।
जितसँगै रियलले २९ खेलबाट ६२ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।