काठमाडौं–सिन्धुपाल्चोकस्थित मेलम्चीमा १८ कोरोना संक्रमित फेला परेका छन्। मेलम्चीको बाहुनेपाटी क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएर मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका ५ जना गरि १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
एकै दिन सिन्धुपाल्चोकमा यति संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए।
‘राति ११ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको छ,’ उनले भने, ‘हामीले सबैलाई मेलम्चीमा रहेको अस्थायी आइसोलेनमा राखेका छौं ।’ उनका अनुसार दोलखाबाट आएर क्षेत्रीय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनाको गरी जम्मा २६ जनाको स्वाब संकलन गरि असार १ गते परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको थियो।
संक्रमितमा पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना छन् । उनीहरु भारत, भोजपुर र दोलखाबाट भिन्न–भिन्न समयमा आएका थिए। योसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ।
तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन्। मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।