सप्तरी–कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ । अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएका हुन्।
प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले बाँसको भाटासहित घरेलु हतियारले आइतबार आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै रामशरणले उजुरी दिएको बताए। आक्रमणमा परी रामशरणका भाइ ३४ वर्षीय कालीचरणको टाउको फुटेर गम्भीर घाइते भएका छन्। उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले उपचार गर्न नसकी रेफर गरेपछि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको श्रीमती रामसुन्दर देवीले बताइन्।
कालीचरणलाई जोगाउन जाँदा घाइते भएकी उनकी भाउजू अडहुलियादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामलखन र रामशरणको सँगै जोडिएको जग्गाको साँधमा रहेको ऐलानी जग्गाको भोगका विषयमा दुवै पक्षबीच लामो समयदेखि विवाद रहेको स्थानीय बलराम यादवले बताए। विवादित जग्गामा कसैले घर नबनाउने गाउँलेको निर्णय भए पनि आरोपितले मौका छोपी जबर्जस्ती घर बनाउन लागेको र ऐलानी जग्गा खाली राख्नुपर्छ भन्दा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरेको उनले बताए।
सो घटनाका बेला आफू नरहेको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताए। घटनाका प्रत्यक्षदर्शी हरिनारायण यादवले घटनाका बेलाको तस्विर देखाउँदै अधिकृत यादव घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरे। जिल्ला प्रहरी कार्यालय, सप्तरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।