काठमाडौं- कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रस्तावक तथा प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ समर्थक रहेको सो प्रस्ताव कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो।
नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित कर्णाली प्रदेश सरकारका तर्फबाट गरेका काम र तयारीका विषयमा सभालाई स्पष्ट पार्न र जनस्वास्थ्यमा थप सङ्कट पर्न नदिन तत्काल सभाले सरकारलाई मार्ग निर्देशन गर्न अपरिहार्य भएको ठहर गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको प्रमुख प्रतिपक्षी दलका नेता शाहीले जानकारी दिए।
‘दर्ता प्रस्तावमार्फत हामीले कर्णालीमा कोरोना सङ्क्रमण दोस्रो चरणमा पुगेको अवस्थालाई मध्यनजर गरी कन्ट्याक्ट ट्रेसिङलाई चुस्त प्रणालीका रुपमा विकास गर्न र विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको आरडिटीबाट परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छौं,’ नेता शाहीले भने, ‘क्वारेन्टाइनमा रहेका सबैलाई आरटी पिसिआर परीक्षण गरेर मात्र घर पठाउन र यसको तीव्र परीक्षण तथा दायरा बढाउन पनि सरकारलाई सुझाएका छौं।’
कोरोनाबाट प्रभावित कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग गर्न, साना उद्यमी, श्रमिक, विपन्न वर्ग अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्ने आर्थिक उत्प्रेरणाको प्याकेज आउनुपर्ने र यस प्रकोपका कारण विद्यालय बन्द भएपश्चात अन्यौल परेको पठनपाठनलाई ध्यान दिएर नेपाल सरकारले घोषणा गरेको वैकल्पिक सिकाइ व्यवस्थापन, विद्यालय पूर्वाधार र उत्प्रेरणाको व्यवस्था गरी उपयुक्त वातावरण तयार गर्न पनि सरकारलाई प्रस्तावमार्फत कांग्रेसले ध्यानाकर्षण गराएको छ।
कोरोना महामारी सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य तथा प्रदेश सरकारका पदाधिकारीले मन्त्री तथा प्रदेशसभा पदाधिकारी, सदस्यहरु र प्रदेश सरकारका पदाधिकारीहरुले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी उक्त सवारी साधनलाई कोभिड–१९ नियन्त्रण गर्ने कार्यमा प्रयोग गर्नसमेत प्रस्तावमा सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।