काठमाडौं- नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ताबापतको रकम सरकारलाई बुझाउने सहमति गरेको छ। संघका पदाधिकारीको छलफलले असार ७ गतेभित्रमा सरकारलाई आयकरको दोस्रो किस्ता रकम तिरिदिने निर्णय गरेको हो।
आयकर ऐन २०५८ को व्यवस्थाअनुसार चैत मसान्तभित्रमा चालु वर्षको आयको अनुमान गरी ७० प्रतिशत रकम सरकारलाई बुझाउनुपर्छ। लकडाउनका कारण कर नबुझाएका बैंकरले सरकारलाई रकम बुझाइदिने निर्णय गरेका हुन्।
कानुनी व्यवस्थाअनुसार चालु वर्षको आयको अनुमान गरी पुस मसान्तमा ४० प्रतिशत, चैतमा थप ३० प्रतिशत र असार मसान्तमा अर्को ३० प्रतिशत बुझाउनुपर्छ।
सर्वोच्च अदालतले लकडाउन पूर्णरूपमा नखुली कर नउठाउन सरकारलाई आदेश दिएको भए पनि बैंकर संघले भने कर बुझाइदिने निर्णय गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए।
यसैगरी बैंकर्स एशोसिएनसले सम्पूर्ण बैंकहरुलाई चैतमसान्तसम्मको करसहित वैशाख महिनाको टिडिएस भुक्तानी गर्ने पत्राचार गरेको छ।
सरकारको कुनै पनि निर्देशनबिना नै नागरिकको हिसाबले गर्नुपर्ने दायित्व पुरा गरिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए। उनले भने, ‘सरकारलाई अप्ठ्यारो परेको बखतमा हामीले हाम्रो दायित्वमात्रै पुरा गरेका हौं। यसमा अर्थमन्त्रालयको कुनै पनि भूमिका छैन।’
सरकारले यसअघि असार ७ गतेसम्म दोस्रो त्रैमाशिक अवधिको कर भुक्तानी गर्न निर्देशन दिएअनुसार नै भुक्तानी गर्न लागिएको उनले बताए। सर्वोच्च अदालतले सरकारको निर्देशनलाई उल्टाए पनि बैंकहरुले आफूले तिर्नुपर्ने दायित्वअन्तर्गत रहेर भुक्तानी गरिसक्ने दाहालले प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।