काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर स्वदेश फर्काउने गरी कार्यविधि बनाउन थालिएको जानकारी दिएको छ।
सर्वोच्च अदालतको आदेश प्राथमिकताका साथ कार्यान्वयन गरी विदेशमा अप्ठ्यारो परेका श्रमिकहरुलाई कोषको रकम प्रयोग गरी उद्धार गर्न आवश्यक कार्यविधि बनाउन थालिएको जानकारी दिएको हो।
कुटनीतिक नियोगमार्फत आवश्यक समन्वयका लागि समेत परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।
मन्त्रीपरिषद्को गत जेठ १२ गतेको मन्त्रीपरिषद्को बैठकले कोरोनाका कारण समस्यामा परी स्वदेश फर्कनै पर्ने अवस्थाका भारत बाहेक अन्य मुलुकबाट आउनेले हवाई उडान खर्च तथा होटल क्वारेन्टाइन खर्चलगायतका सम्पूर्ण खर्च आफैंले व्यहोर्नुपर्ने व्यवस्था गरेको थियो।
सो व्यवस्थाले श्रम स्वीकृति लिएर गई अलपत्र परेका श्रमिकहरुलाई पनि आफैं खर्च बेहोरेर स्वदेश फर्कन बाध्य पारेको थियो।
श्रम स्वीकृति लिएर गएका श्रमिकहरु अप्ठ्यारो वा महामारीमा परेमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर ल्याउनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐनमा रहेपनि सरकारले अप्ठ्यारोमा परेका श्रमिकहरुसँग कानुनविपरीत रकम उठाइरहेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।
सो रिटको सुनुवाई गर्दै यसरी समस्यामा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोेषको रकम प्रयोग गरेर स्वदेश फिर्ता ल्याउन र उनीहरुलाई घरसम्म पुर्याउन सोमबार अदालतले आदेश जारी गरेको हो।
आदेशमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेका र गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका श्रमिकहरुलाई छुट्टै कार्यविधि बनाई कोषको न्यायपूर्ण प्रयोग हुने गरी तत्काल उद्दारको प्रक्रिया सुरु गर्नू भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।