काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको बताएका छन्।
राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आउनेहरुको संख्या अत्याधिक बढेकाले व्यवस्थापन गर्न सरकारलाई कठिनाइ भएको बताए।
प्रधानमन्त्री ओलीले चैत, वैशाख, जेठ र असारमा भारतबाट आएकाहरुको तथ्यांक पनि सदनमा सुनाए। जेठमा २ लाख ४१ हजार ८ सय जना नेपाल प्रवेश गरेको उल्लेख गर्दै उनले असार महिनामा आउनेको संख्या भने घटेको बताए। बढ्दो संख्यालाई व्यवस्थित गर्न कठिन हुनु स्वाभाविक भएको उनको भनाइ थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तथा अन्य दलले अव्यवस्थित क्वारेन्टाइनको प्रश्न उठाएपछि प्रधानमन्त्रीले जवाफ फर्काएका हुन्।
बाहिरबाट आरोप लगाउन सजिलो भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘अढाइ लाखको क्वारेन्टाइनको व्यवस्थापनको कुरा भन्नलाई सजिलो छ। खानपिन, बस्ने तथा परीक्षणको प्रबन्ध मिलाउन सजिलो होइन।’
परीक्षणका लागि हालको क्षमता चार हजार पाँच सय रहेको प्रधानमन्त्रीले जानकारी गराए। अधिकतम परीक्षण भएको समयमा सात हजारसम्म पुगेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।