काठमाडौं– प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट समेत पारित भएको छ। गत शनिबार प्रतिनिधि सभामा सर्वसहमतिबाट पारित भएको संशोधन विधेयक आज राष्ट्रिय सभामा पनि सर्वसहमतिबाट पारित भएको हो।
भारतले नेपालको भूमि अतिक्रमण गरी नोभेम्बर २ मा राजनीतिक नक्सा प्रकाशित गरेको सात महिनापछि नेपालले पूर्ण नक्सा जेठ ७ मा सार्वजनिक गरेको थियो। पूर्ण नक्सा र संविधान संशोधन विधेयकमा सबै दलको अभूतपूर्व एकता समेत देखिएको थियो। सबै दल एक ठाउँमा उभिदा दुबै सदनबाट सहजै संविधान संशोधन प्रस्ताव पारित हुन सक्यो।




टाइमलाइनमा नक्सा
कार्तिक १६ : भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी राजनीति र प्रशासनिक नक्सा जारी।
कार्तिक २२ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतले अतिक्रमित गरेको भूमिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान।
मंसिर ५ : भारतलाई ‘कुटनीतिक नोट’ पठाएर औपचारिक रुपमा विरोध।
पुस ७ : भारतीय दूतावास मार्फत कालापानी र सुस्ता समस्या सल्टाउन तयार रहेको जवाफ।
वैशाख २६ : लिपुलेक हुँदै मानसरोवर जाने बाटोको भारतद्वारा निर्माण सुरु।
वैशाख २९ : भारतले निर्माण सुरु गरेको सडकमार्गबारे जानकारी राख्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए।
वैशाख ३१ : प्रधानमन्त्री ओलीद्वारा अतिक्रमित भूमिमा राष्ट्रिय सहमति खोज्न पुनः सर्वदलीय बैठक आह्वान।
जेठ ५ : मन्त्रिपरिषद्को बैठकद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा पारित।
जेठ ७ : मन्त्री पद्मा अर्यालद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्सा सार्वजनिक।
जेठ ९ : निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय।
जेठ ९ : सरकारद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता।
जेठ १८ : प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाम्फेद्वारा नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश।
जेठ १९ : जसपाका दुई सांसद राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता।
जेठ २० : नेपाली कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता।
जेठ २० : सर्वसाधारणलाई जानकारी दिन राजपत्रमा सूचना प्रकाशित।
जेठ २१ : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलद्वारा संघीयता खारेजीको प्रस्ताव गरिएको संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता।
जेठ २१ : सर्वसाधारणलाई जानकारी दिन गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित।
जेठ २३ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालद्वारा संविधान संशोधन प्रस्ताव दर्ता। सबैलाई सैनिक तालिमको प्रस्ताव।
जेठ २७ : नेपालको सविधान दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत। संशोधनका लागि सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध।
जेठ २८ : सांसद सरिता गिरीद्वारा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता
जेठ ३१ : संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित।
जेठ ३२ : विधेयक राष्ट्रियसभामा पेश। संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध।
असार ४ : राष्ट्रिय सभाबाट सर्वसहमतिमा संशोधन विधेयक पारित।
असार ४ : संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।