काठमाडौं–संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिबाट पारित भएको छ। संसोधनको प्रस्तावको पक्षमा उपस्थित सबै ५७ जनाको मत परेको छ।
नेपालको संविधान दोश्रो संशोधन विधेयकको सर्वसम्मतिबाट पारित भएको रााष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।
विधेयक पारितका लागि ‘हुन्छ र हुन्न’ गरि दुई लवि छुट्याइएको थियो।
निशान छापमा रहेको नेपालको नक्सामा पूर्ण नक्सा प्रतिस्थापन गर्नका लागि सरकारले संसोधन विधेयक सदनमा दर्ता गराएको थियो।
यसअघि गत शनिबार प्रतिनिधि सभाको बैठकले संसोधन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको थियो।
विधेयक पारित अघि बोल्दै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले दीप प्रज्ज्वलन गर्न सबैसँग आव्हान गरिन्। संसोधन विधेयक पारित भएको दिनलाई गौरवको समय भएको उनले बताइन्।
राष्ट्रिय सभामा ५९ जना सदस्य रहेकोमा अध्यक्षले मत विभाजनमा भाग लिन पाउँदैनन् भने एक जनाकाे सिट खाली छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।