काठमाडौं- स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडका गोलकिपर जान ओबलाकले सबैभन्दा छिटो गोल नखाइ एक सय खेल पूरा गर्ने कीर्तिमान बनाएका छन्। बुधबार राति ओसासुनासँग भएको खेल ५-० ले जितेसँगै ओबलाकको कीर्तिमान बनेको हो।
स्लोभियाका गोलकिपर ओबलाकले १ सय ८२ खेलमा गोल नखाइ एक सय खेल पूरा गरेका हुन्। यसअघि मिगेल रेइनाले २ सय २२ खेलमा गोल नखाइ एक सय गोल पूरा गरेको कीर्तिमान राखेका थिए। यसैगरी अहिले तेस्रो स्थानमा रहेका भिक्टर भाल्देसले बार्सिलोनाबाट नै २ सय २७ खेल खेल्दा गोल नखाइ एक सय खेल पूरा गरेका थिए।
ओबलाकको कीर्तिमानलाई हेर्दा उनले ला लिगामा ५५ प्रतिशत खेलमा गोल खाएका छैनन्। जुन लिगका अन्य गोलकिपरको तुलनामा निकै राम्रो हो।
ओसासुनाविरुद्धको जितमा एथ्लेटिको मड्रिडका योआओ फेलिक्सले दुई साथै मार्कस लोरेन्टे, अल्भारो मोराटा, यानिक कारास्कोले एक-एक गोल गरेका थिए।
लिगमा एथ्लेटिको मड्रिड २९ खेलमा ४९ अंकसहित चौथौ स्थानमा छ। २९ खेलमा नै ३५ अंक रहेको ओसासुना ११औँ स्थानमा छ। २९ खेलमा ६४ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रोमा रहेको रियल मड्रिडको २८ खेलमा ५९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।