काठमाडौं- गत माघमा अमेरिकी ब्राण्ड टेस्लाका दुई गाडी नेपाल भित्रिए। आधिकारिक बिक्रेताले मात्रै सवारी साधन आयात गर्नुपर्ने त्यतिबेलाको व्यवस्था विपरित भित्रिएका ती गाडी भन्सार जाँचपासपछि काठमाडौं ल्याउन खोज्दा धादिङबाट फर्काइयो। अहिले पनि ती गाडी वीरगञ्जमै छन्।
जेठ १४ गते अर्को विलासी ब्राण्ड बिएमडब्लूको सेभेन सिरिज कार नेपाल भित्रियो। यो कार जाँचपासका क्रममा कानुनविपरित कर छुट दिइयो। आयातकर्ताले ६० प्रतिशत अन्त:शुल्क तिर्नुपर्नेमा ३० प्रतिशत मात्रै तिर्यो। नेपाल लाइभले यो विषय बाहिर ल्याएपछि आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले भन्सारबाट कार छुटाएको १८ दिनपछि थप कर तिरेको छ।
यी दुई प्रतिनिधि घटनाले भन्सारमा दोहोरिएका त्रुटिलाई प्रष्ट देखाएको छ। सामान्यता 'ग्रिन च्यानल'बाट आयात हुने सवारी साधनमा नै यस्तो समस्या दोहोरिएपछि प्रश्न उठेको छ, अन्य सामान जाँचपास कति विश्वसनीय छ?
बिएमडब्लूको विषयमा नेपाल लाइभमा प्रकाशित समाचार उल्लेख गर्दै सांसद देवेन्द्रराज कँडेलले आइतबार प्रतिनिधिसभा बैठकमा प्रश्न उठाए, कानुन विपरित कसरी गाडी छुटे? उनले यो घटना गम्भीर भएको भन्दै दोषिमाथि कारबाहीको माग पनि गरे।
अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ विधयेकमाथि जवाफ दिने पालो आइतबार नै थियो। आफ्नो जवाफका क्रममा खतिवडाले मानवीय त्रुटिले आयातकर्ताले एउटा गाडीको कम राजस्व तिरेको भन्दै छुट असुली भइसकेको जानकारी गराएका छन्।
बिएमडब्लू आयातमा तिर्नुपर्ने कर नतिरिएको विषय बाहिरिएपछि आयातकर्ताले ६३ लाख रूपैयाँ थप कर तिरेको छ, तर यसले भन्सारको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। भन्सार जाँचपास प्रक्रिया विश्वसनीय छ?
भन्सार विभागका महानिर्देशक सुमन एक/दुई घटनालाई लिएर सामान्यीकरण गर्नु उचित नहुने बताउँछन्। 'कहिलेकाँही कामको धेरै चाप हुँदा सामान्य त्रुटि हुन सक्छ, तर हामीसँग यति बलियो संयन्त्र छ कि त्यसले सम्पूर्ण प्रक्रियाको मिहीन अध्ययन गर्दछ र कतै कमजोरी भए तत्काल सच्याउँछ’, दाहालले भने, 'भन्सारको आन्तरिक लेखापरीक्षण र जाँचपास परीक्षणमार्फत त्यस्ता कमजोरीलाई सच्याउने काम नियमितरूपमा भइरहेको छ। अहिले बाहिर आएको घटनाले हामीलाई अझै प्रभावकारी ढंगले काम गर्न प्रेरित गरेको छ।'
कसरी हुन्छ जाँचपास?
आयातित सामानलाई भन्सारमा प्रयोग हुने आशिकुडा प्रणालीमा तीन भागमा वर्गीकरण गरिन्छ। भन्सारको भाषामा त्यसलाई रेड, ग्रिन र यल्लो च्यानल भनिन्छ। रेड च्यानलमा आउने सम्पूर्ण सामानको पूर्ण चेकजाँच हुन्छ। रेड च्यानलमा आउने वस्तुको विस्तृत चेकजाँच गरिन्छ, जुन वस्तु शंकास्पद हुन्छ त्यसलाई रेड च्यानलमा राखेर चेकजाँच गरिन्छ।
यल्लो च्यानललाई तुलनात्मकरूपमा कम जोखिमपूर्ण मानिन्छ। ग्रिन च्यानलबाट आउने वस्तुलाई जोखिममुक्त मानिन्छ।
उल्लेखित दुई त्रुटि ग्रिन च्यालनबाट पास भएका वस्तुमा भएको छ। यसले भन्सारको जाँचपासमाथि शंका गर्ने ठाउँ दिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।
'सवारी साधन आयातमा नै भन्सारका कर्मचारीले यति लापरबाही गर्छन् भने अरु अवस्थामा के होला?’, लामो समय भन्सारमा बसेका एक अधिकारीले भने, 'अहिले कर्मचारीको क्षमतामा ह्रास आएको छ। अर्को कुरा उनीहरू आफ्नो जिम्मेवारीप्रति कति जवाफदेही छन् भन्ने कुरा पनि यसैले देखाएको छ।'
सवारी साधनको आयातमा अहिले मूल्यांकनको बहस छैन। उत्पादकले जारी गरेको बिलकै आधारमा भन्सार मूल्यांकन हुन्छ। दरबन्दी यकिन छ र वर्गीकरण पनि सहज बनाउँदै लगिएको छ। वर्गीकरण सहज बनाउन हार्मोनाइज्ड कमोडिटी डिस्क्रिप्सन एन्ड कोडिङ सिस्टम (एचएस कोड)मा नयाँ नेशनल हेडिङ थपिएको छ। तैपनि भन्सारबाट कमजोरी दोहोरिरहेको छ।
किन हुन्छ शंका?
भन्सारको काम सिधा रूपमा व्यवसायीसँग जोडिन्छ। भन्सारमा खटिने कर्मचारी र व्यवसायीबचको मिलेमतोमा विगतमा गैरकानुनी काम नभएका पनि होइनन्। नेपालगञ्ज भन्सारका तत्कालीन प्रमुख जनार्दन आचार्यसहितको टोली लामो समय निलम्बनमा पनि पर्यो।
विगतका यस्ता गतिविधिले भन्सार प्रशासनमाथि प्रश्न उठाएको छ। शंका बढाएको छ। राजस्व संकलनका अतिरिक्त भन्सारको काम व्यापार सहजीकरण पनि हो। व्यापार सहज बनाउँदै कानुनअनुसारको सम्पूर्ण राजस्व उठाउने गरी भन्सार प्रशासनले काम गर्नुपर्ने अर्थका अधिकारीहरू बताउँछन्। 'जिम्मेवारीमा खटिएका कर्मचारी अझै गम्भीर बन्नुपर्ने पाठ अहिलेको घटनाले सिकाएको छ,' अर्थका ती अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।