अहिलेको परिस्थितिमा हरेक दिन नौलो अनुभव भइरहेको छ। यो समयलाई कसरी बुझ्ने?, कसरी हेर्ने? अलि बढी सोच्दा चिन्तित पनि हुन थालिएको छ। अहिलेको समय धेरै जटिल पनि छ।
राज्यका विभिन्न निकायमा बसेर मैले काम गरें। राज्यको चरित्र बुझ्ने अवसर पनि पाएँ। अहिले हरेक संयन्त्रबाट बाहिर छु। नेपाली कांग्रेस मैले माया गर्ने पार्टी हो। तर त्यसको सदस्य म छैन। डेमोक्रेट हुनु नै कांग्रेस हो भन्ने कुनै समय थियो। अहिले पनि ‘मोर अर लेस’ त्यस्तै छ। कांग्रेसमा म नभए पनि यो पार्टीले बोकेको विश्वास र धरोहरमा मलाई माया लाग्छ।
मलाई यो समय बडो संकटपूर्ण लागिरहेको छ। पुरानो पुस्ता र नयाँ पुस्तालाई हेर्ने क्रममा अनोठौ पनि लाग्छ। केही समयअघि मैले नेपाली कांग्रेसको महासमिति सदस्यको नामावली हेरें। नयाँ अनुहार पार्टी कांग्रेसमा प्रवेश गरेकै छैन। केही नयाँ छन्, तर ती पनि गुटमा रुमल्लिएका छन्। २/३ महाधिवेशन अघिबाट केही नयाँ अनुहार पसेका छन्। तिनीहरु ठेक्का वा व्यवसायको नामबाट पसेको पाइन्छ। राजनीति विश्वासको आधारमा भएको छैन।
नेपाली कांग्रेस पार्टी विभिन्न कालखण्डमा सत्तामा बसिसकेको पार्टी हो। व्यावहारिक रुपमा कांग्रेसले धेरै कुरामा ‘कम्प्रोमाइज’ गरेको छ। काम गर्दा व्यक्तिले कतिपय कुरामा समर्पण गर्नुपर्ने हुन्छ। राजनीतिक नेतृत्वले पनि निर्णय लिँदा गल्ती हुन्छ। गल्ती गरें भन्ने परम्परा न सत्तामा भएको पार्टी वा विपक्षीमा रहेको पार्टीमा छ।
आत्माआलोचन भन्ने कहिलेकाहीँ नक्कली कुरा सुनिन्छ। काम गर्दा ‘प्रोफेसनल हेजार्ड’ हुन्छ। जबसम्म कुनै संस्थाले मैले गल्ती गरें र गल्तीबाट सिकें भन्दैन, तबसम्म त्यो अघि लाग्न सक्दैन। नेपाली कांग्रेसले इतिहासमा धेरै राम्रो काम गरेको थियो भने यसले आफ्नो पेन्सन पाइसक्यो। मलाई तितो कुरा गर्न मन छ।
भविष्य हेर्न सक्ने दृष्टिकोण यो पार्टीमा छ कि छैन भन्ने कुरामा आज/भोलि संसय लागेको छ। किनभने कांग्रेसले कुनै कुरामा ‘रेस्पोन्स’ गरेकै छैन। सत्तापक्षले कांग्रेसको बेलामा यस्तो भएको थियो भनी कुनै कुरा फिस्स निकाले कांग्रेस मुखमा बुझो लगाएर बसेको हुन्छ। जबकी कांग्रेसले केही भन्छ कि भनेर देशभर प्रतीक्षा गरेका हुन्छन्। आफ्नै लघुताभाषले, सत्तामा बस्दा भएको कमजोरी सार्वजनिक हुन्छ कि भन्ने डरले बोल्ने कुरामा पनि यो पार्टी बोल्न सकिरहेको छैन। कांग्रेसबाट म धेरै आशावादी हुन सक्दिनँ।
लोकतन्त्रमा ३/४ विषय अति महत्वपूर्ण हुन्छन्। जुन लोकतन्त्रमा अल्पसंख्यक हुँदैन, जुन लोकतन्त्रमा विरोधी हुँदैन, त्यो लोकतन्त्र हुन सक्दैन। जुन लोकतन्त्रमा सबै एकनासका मान्छे हुन्छन्, त्यो लोकतन्त्र हुँदैन। लोकतन्त्र भन्नु नै विविधता र बहुलता हो। असहमति हुँदैन, विपक्षी हुँदैन भने त्यो लोकतन्त्र हुन सक्दैन। राष्ट्रवादको एकोहोरो कुरा सबैले गर्ने हो भने पनि त्यो संकीर्णतावाद हुन्छ। राष्ट्रवाद कसैको निजी सम्पत्ति होइन। राष्ट्रवाद कुनै धर्म होइन।
नेपाली नागरिक महाकाली नदीमा हेलिएर आफ्नो देश आउन खोजिरहेका थिए। त्यही महाकाली नदीमा आज संकट भइरहेको छ। आफ्ना नागरिक नदीमा हेलिएर आउन खोज्दा चिम्म गर्ने सरकारले अहिले कुन मुखले त्यहाँ नेपालको जग्गा छ भनेर जान सक्छ? नागरिक मेरो होइन भन्ने जग्गा मेरो भन्ने? जग्गा विनाको मानिस हुन सक्छ? देश किन चाहियो?
नागरिकको भावना मुखरित नगर्ने हो भने जमिनको कुनै अर्थ छैन। जमिन उभिनको लागि चाहिएको हो। नागरिकको अस्तित्व स्वीकार नगर्ने, सीमामा लाखौं मानिसले मेरो देश जान पाउँ भन्नेलाई ल्याउन नसक्ने सरकार छ। यस्तो बेलामा बोल्न नसक्ने प्रतिपक्षी दल छ। वैश्विक महामारीलाई अधिनायकवादी शक्तिहरुले प्रयोग गर्न सक्दा रहेछन्।
नागरिकलाई घर बस्न भनिएको छ। एक्लै बस्न भनिएको छ। राज्य भन्छ, ‘तँ बाहिर गइस् भने संक्रमण हुन्छ।’ फेरि राज्य भन्छ, ‘तँलाई म सुरक्षा गर्छु।’ राज्यले के सुरक्षा गरेको छ? अस्पतालको व्यवस्था छैन। सुत्केरी भएर जाँदा मरेको स्थिति छ। सामान्य बिरामी भएर अस्पताल जान पाइँदैन। महामारीको नाममा अस्पताल ठप्प पारेर राखिदिने? मानव सभ्यता एउटै महामारीबाट मात्रै गुज्रेको छ त? अन्य सार्वजनिक सेवा र सुविधाका विषयमा सत्ता र प्रतिपक्ष बोल्न पर्ने होइन?
कोरोना महामारीका कारण नागरिक बोल्न सक्दैनन्। सडकमा जान सक्दैनन्। पहुँच भएका व्यक्ति त बोल्नुपर्छ नि। अनिश्चितता र भयबाट नागरिक आक्रान्त छन्।
नागरिक बेघरबार भएका छन्। भोकभोकै हिँडेका छन्। यसमा बोल्नु छैन। तर भनिएको छ, ‘तँ घरबाट बाहिर निस्किस् भने असुरक्षित हुन्छस्। किनभने तैलै रोगको संक्रमण लिएर हिँडन सक्छस्।’ जनता लकडाउनमा छन्। सरकार ‘ओपन’ छ।
अध्यादेशको कुरा गर्ने बेला सरकारलाई अहिले हो? अध्यादेश खारेज भएको भोलिपल्ट शेरबहादुर देउवा कुन मुख लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएका? देउवाले ओलीसँग के भने पार्टीमा सर्कुलर गरिएको छ? ‘कम्प्रोमाइज’ गरेर आइएको छ। संवैधानिक निकायमा नियुक्ति हुँदा व्यक्ति छनोट ‘मेरो आधारमा’ हुने भनिएको छ। तसर्थ ‘कम्प्रोमाइज लिडरसिप’ले आवाज उठाउन सक्दैन।
सार्वजनिक सेवाहरु संकुचनमा गएको छ। अर्थतन्त्र चौपट भएको छ। प्रतिपक्षी दलसँग के छलफल भएको अर्थतन्त्रका बारेमा? नीति तथा कार्यक्रमको छलफल संसदमा सुनियो। राजनीतिको दायरा फराकिलो भएको छैन। संक्रमणको नाममा राजनीति संकुचन भएको छ। टेलिफोन ट्यापिङ गर्ने गरी जनताको अधिकार कुन्ठित गर्ने यो समय हो? वाक स्वतन्त्रतालाई बन्देज लगाउने कार्य भएको छ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद छैनन्? सरकारले ल्याएको प्रस्तावमा ताली बजाए।
कोरोना महामारीका कारण नागरिक बोल्न सक्दैनन्। सडकमा जान सक्दैनन्। पहुँच भएका व्यक्ति त बोल्नुपर्छ नि। अनिश्चितता र भयबाट नागरिक आक्रान्त छन्। नागरिक नेतृत्वले जनतासँग संवाद गरेको छैन। चार जना कर्मचारीलाई दिनहुँ यो सरकारले संक्रमितको संख्या भन्न लगाउँछ। नागरिकलाई नआत्तिनुस्, धैर्य गर्नुस्, कुन नेताले भनेका छन्? कोरोना संक्रमणको बेलामा अधिनायकवादको शैलीमा संस्थाहरु तहसनहस बनाइँदैछ।
भूकम्पको बेला सामाजिक संयन्त्र चलायमान थियो। खाना अभाव भएकालाई खाना पुर्याउन सामाजिक संयन्त्र क्रियाशील थिए। नागरिकलाई राज्यसँग आइसोलेट गरिएको छ। राज्यसँग जोड्ने सामाजिक संस्थाहरुलाई बेकामे बनाइएको छ। नागरिकका मागलाई राज्यसम्म पुर्याउने संस्था क्षतविक्षत भएका छन्।
महासंकटको कारण विश्वमा जस्तै हाम्रोमा पनि अधिनायकवादी शक्ति हावी हुँदै जान्छन्।
कोरोना महासंकटको बेलामा प्रतिपक्ष दलले ‘श्वेतपत्र’ निकाल्न सकेको छैन। हाम्रो काम पुनर्परिभाषित गर्ने बेला आएको छ। ‘कलेक्टिभ बार्गेनिङ’का लागि जोड्ने आधार के हो? ट्रेड युनियनले कलेक्टिभ बार्गेनिङको पावर छिन्नभिन्न भएको छ। आजसम्मको राजनीतिको धरोहर भनेकै एक अर्कासँग अन्तर्क्रिया गर्ने हो। हिजोका दिनमा पार्टीका संरचनाले अवरोध गरे भने अहिले कोरोना संक्रमणले अन्तर्क्रियाहरु हुन छोडे। नागरिक, पार्टी कार्यकर्तासँग संवाद गर्ने परिवेश पनि खत्तम भएर गएको छ। ‘लिमिटेड कन्ट्रोल’मा बसेर राजनीति चल्दैन। सबैभन्दा शक्तिशाली राज्य संयन्त्र भएको छ।
महासंकटको कारण विश्वमा जस्तै हाम्रोमा पनि अधिनायकवादी शक्ति हावी हुँदै जान्छन्। प्रश्न पनि गर्न नागरिकले गर्न पाउँदैन। जसले रक्षा गर्छु भन्छ, उसले रक्षा पनि गरेको छैन।
भोलिको व्यापार, व्यवसाय वा उद्योगमा जम्प गर्न कसरी सकिन्छ? रोजगारी गुमेकाहरु आएर फेरि कृषिमै लाग्छन् भन्ने पनि लाग्दैन। कृषिमा जानलाई लगानी जरुरी पर्छ। लाखौं युवा विदेशबाट निराश हुँदै फर्केनेछन्। काठमाडौंबाट पनि निराशा नै राखेर गाउँ फर्केनेहरु छन्। महत्वपूर्ण कुरा तिनीहरुमा ऊर्जा कसरी भर्ने कुरा हो। आज संकटमा नागरिकको ‘केयर’ नगरेको सत्ताले भोलि कसरी विश्वास दिलाउँछ?
भूकम्पपछि सामाजिक सद्भाव देखाउने बेला थियो भने अहिले सद्भाव देखाउने ठाउँ पाएका छैनौं।
(‘प्रतिपक्षी भूमिकाको कसीमा कांग्रेस’ विषयक अनलाइन संवादमा राजनीतिक विश्लेषक शर्माले राखेको धारणाको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।