काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब वाटफोर्डका डिफेन्डर एड्रियन मारिअप्पामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। क्लबले तीन खेलाडीमा संक्रमण देखिएको भन्दै नाम गोप्य राखेपनि एड्रियनले भने आफ्नो नाम बाहिर ल्याएका हुन्।
प्रिमियर लिग क्लबहरुको सामूहिक अभ्यासअघि सोमबार सबैको परीक्षण गरिएको थियो। जसमा ६ जनामा संक्रमण देखिएको मंगलबार नै बताइएको थियो। जसमा वाटफोर्डकै दुई कर्मचारी पनि छन्।
‘म एकदमै अचम्मित भएको छु, किनभने म घरबाट बाहिर कतै निस्केकै छैन, कसरी ममा संक्रमण देखियो। घरमा नै फिट रहन व्यायाम गर्दै बसेको थिएँ, बाहिर निस्किएकै थिइनँ’, टेलिग्राफले एड्रियनलाई उद्धृत गर्दै लेखेको छ, ‘म असाध्यै शान्त स्वभावको मान्छे हुँ, कतै पार्टीमा जाने या बाहिर डुल्ने गरेकै छैन।’
जमाइकाका ३३ वर्षका यी खेलाडीले आफूलाई कुनै लक्षण पनि नदेखिएको र सधैँ जस्तै स्वस्थ महसुस भइरहँदा कसरी कोरोना देखियो भन्नेमा अचम्ममा परेको बताएका छन्। ‘स्वस्थ महसुस भइरहँदा, कुनै लक्षण पनि नदेखिँदा र कतै अरुको सम्पर्कमा पनि नजाँदा ममा संक्रमण कसरी भयो विश्वास नै भएको छैन’ उनले भनेका छन्।
‘यदि अहिले अभ्यासमा जानुअघि सबै खेलाडीको परीक्षण गर्नुपर्छ भनेर परीक्षण नगरिएको भए ममा संक्रमण भएको छ भन्ने मलाई थाहा नै नहुने रहेछ। यदि साधरण र सामान्य भइरहँदा पनि संक्रमण कहाँबाट आयो भन्नेमा म अझै पनि अचम्मित छु।’
कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि उनी अहिले सात दिनको ‘सेल्फ आइसोलेसन’मा छन्।
यस्तै चेल्सीका मिडफिल्डर एन्जेलो कान्टे कोरोना भाइरस (कोभिड १९) को लक्षणका कारण अभ्यासमा सामेल भएका छैनन्। उनलाई प्रशिक्षक फ्रान्क लामपार्डले नै आरामका लागि समय दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।